काठमाडौँ, ५ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीकी धर्मपत्नी एवम् प्रथम महिला राधिका शाक्यले आफूलाई राजनीतिमा आउनको लागि कुनै चासो नभएको बताउनुभएको छ ।
सोमबार आयोजित आफूले लेखेको पुस्तक ‘करुणा’ बारे अन्तरक्रिया कार्यक्रममा उहाँले पाको उमेरमा राजनीतिमा आएर के पाउने हो र भन्दै प्रश्न गर्नुभयो । उहाँले राजनीतिमा लागेको भए आजसम्म प्राप्त भएका उपलब्धिहरु पनि गुम्ने संकेत गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘तपाइँ राजनीतिमा पो सलबलाउन थाल्नुभएको हो कि भन्ने पत्रकारहरुका प्रश्न आएका छन् । यसमा सबैजना ढुक्क हुनु भए हुन्छ, म राजनीतिमा आउने मान्छे होइन । मैले आफ्नो ऊर्जाशील जवानीमा त राजनीति गरिन । अब निभ्न लागेको बत्ती भनेको जस्तै आजको यो उमेरमा किन राजनीतिमा आउछु र । के पाउछु र ? अहिले चुप लागेर बसेको छु र नै धेरै कुरा प्राप्त गरेको छु । जहाँसम्म लाग्छ राजनीतिमा लागेको भए यति कुरा पनि पाउँदिन थिए होला ।’
यस्तै, उहाँले केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भन्ने कता–कता प्रश्न गरेको सुनेको पनि बताउनुभयो । ‘मलाई केपी ओलीले राजनीतिमा आउ वा सक्रिय बन्नु कहिले भन्नुभएको छैन । आफू राजनीति गर्न भनेर आएको पनि होइन,’ उहाँले भन्नुभयो ।
उहाँले भन्नुभयो, ‘मलाई धेरै मान्छेहरुले अब केपी ओलीले श्रीमतीलाई अगाडि सार्न लाग्यो कि क्या हो भनेर प्रश्न गरेको सुनेकी छु । तर, केपी ओलीले मलाई राजनीतिमा जाऊ भनेर भन्नुभएको छैन । म आफैँले पनि राजनीति गर्छु भनेर भनेको पनि छैन । म एउटा सामान्य नेपाली हुँ, यो नेपालको इमान्दार छोरी हुँ र मैले जति कुरा बुझेकी छु, मेरो मन मस्तिष्कले जति कुरा बुझेको छ । कुन ठिक, कुन बेठिक भन्ने कुरा बुझेकी छु । ती सबै कुरा किताबमार्फत् व्यक्त गरेकी छु ।’