काठमाडौँ, १ जेठ । सरकारी कार्यालय, स्थानीय तह, बैंक तथा वित्तीय संस्था, शैक्षिक प्रमाणपत्रलगायत कागजात किर्ते गरी नक्कली बनाउने गिरोहका तीन जना पक्राउ परेका छन् । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौँको तारकेश्वर नगरपालिका-७ फुटुङबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले नक्कली कागजात बनाउने गोरखाको भीमसेन गाउँपालिका-१ मसेलकी ४६ वर्षीया अञ्जनी बयलकोटी, ओखलढुङ्गाको चम्पादेवी गाउँपालिका-७ का २८ वर्षीय निर्मल खड्का र मकवानपुरको कैलाश गाउँपालिका-२ छ्याङ्ढुङका २३ वर्षीया अञ्जु खत्रीलाई किर्ते कागजातसहित पक्राउ गरेको हो ।
निजहरूलाई आवश्यक कारबाहीका लागि आज जिल्ला प्रहरी परिसर काठमाडौँ पठाइएको कार्यालयका प्रवक्ता काजीकुमार आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकी बयलकोटीले ८ वर्षदेखि सरकारी तथा गैरसरकारी कार्यालयका कागजात, विभिन्न स्थानीय तहको सिफारिस पत्र, विभिन्न शैक्षिक संस्थाका प्रमाणपत्र, जग्गाधनी पुर्जा, सवारीचालक अनुमतिपत्रलगायत कागजात किर्ते गरी प्रयोग तथा प्रचलनमा ल्याउने गरेको अनुसन्धानबाट खुलेको छ ।
निजले फुटुङमा कोठा भाडामा लिइ नक्कली कागजात डिजाइन गर्न दुई जना सहयोगीलाई मासिक १० देखि १५ हजारसम्म तलब दिई कार्यालय सञ्चालन गरेकी पाइएको प्रहरीले जनाएको छ ।
बैंकबाट ऋण लिने प्रयोजनार्थ नक्कली जग्गाधनी पुर्जा बनाइदिने गरेको अनुसन्धानबाट खुल्न आएको प्रवक्ता आचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार पक्राउ परेकाहरूले विद्यार्थी भिसामा जापान जानेहरूका लागि सहकारी संस्थाका ‘स्टेटमेन्ट’समेत बनाएर कुरियरमार्फत् पठाउने गरेका पाइएको छ ।
उनीहरूले विभिन्न शैक्षिक संस्था तथा सरकारी कार्यालयका ‘होलोग्राम’हरू आवश्यकताअनुसार उपलब्ध गराउने, जापानलगयत विभिन्न देशमा कामदार भिसामा जानका लागि विभिन्न तहको शैक्षिक प्रमाणपत्र तथा अनुभवपत्र बनाइदिने गरेको अनुसन्धानबाट खुलेको छ ।
प्रहरीले उनीहरूका साथबाट नक्कली जग्गाधनी प्रमाणपुर्जा, विभिन्न तहका शैक्षिक प्रमाणपत्र, बैंक तथा सहकारीका लेटरप्याड, छाप, कम्प्युटर, प्रिन्टरलगातय सामग्री बरामत गरेको छ ।