‘के घर के डेराः घर नं २’ मा कथाको उठान र बैठानमा समस्या छैन : खगेन्द्र लामिछाने

1

काठमाडौँ, ३१ वैशाख । अभिनेता खगेन्द्र लामिछानेले ‘के घर के डेराः घर नं २’ मा ठुलो संख्यामा स्टार कलाकार रहे पनि कथाको उठान र बैठानमा समस्या नरहेको बताउनुभएको छ । चलचित्रमा धेरै पात्रको कथा रहेको तर त्यसको उठान र बैठान सरल र कुशल रहेको खगेन्द्रको दाबी छ । उहाँ आफैँ पनि सबै पात्रको सहज ल्यान्डिङ देखेर छक्क परेको बताउनुहुन्छ ।

‘म आफैँ पनि लेख्ने भएकाले धेरै पात्र हुँदा कसरी हरेक पात्रलाई सहज ल्यान्डिङ गर्ने भन्नेमा अलमलमा हुन्छु । तर, यो चलचित्रमा त्यस्तो छैन,’ उहाँले भन्नुभयो, ‘यसमा लेखकले लेख्दा पनि धेरै काम भएको होला । निर्देशकले पनि यसमा काम गरेको देखिन्छ, जसका कारण हरेक क्यारेक्टरको सहज ल्यान्डिङ छ ।’

उहाँले यो चलचित्रमा अचनाक काम गरेको बताउनुभयो । चलचित्र ‘विमान’को काममा व्यस्त रहेका बेला निर्देशक दीपेन्द्र के खनालले यो क्यारेक्टरमा तपाईंबाहेक अरु कोही पनि हुँदैन भनेपछि आबद्ध भएको उहाँको भनाइ छ । अरु निर्देशकले बोलाएको भए सायद नगर्ने उहाँले बताउनुभयो । दीपेन्द्रसँग छुट्टै खालको बन्डिङ भएको उहाँले बताउनुभयो ।

‘दिउँसो ‘के घर के डेराः घर नं २’मा काम गरेर रातिराति विमानको काम गर्थें,’ उहाँले भन्नुभयो । क्यारेक्टरका लागि काम गर्ने समय धेरै नरहेकाले आफूले आफ्नो चरित्र निर्माणको सबै काम निर्देशकमा छोडिदिएको अभिनेता खगेन्द्रले स्मरण गर्नुभयो ।

‘म विमानको कामको प्रेसरमा थिएँ । त्यसैले क्यारेक्टरमा लामो समय लिएर काम गर्न सम्भव थिएन,’ उहाँले भन्नुभयो, ‘मैले यो कुरा निर्देशकलाई भनेको थिएँ । उहाँले जसरी काम लगाउनुभयो, मैले त्यसैगरी डिरेक्टर एक्टर भएर काम गरेको हुँ ।’

‘दिमाग खराब’मा पनि आफूले यसैगरी काम गरेको उहाँले स्मरण गर्नुभयो । त्यसैले यही दुई सिनेमामा आफूले गरेको कामको श्रेय पनि निर्देशकलाई जाने उहाँको भनाइ छ ।

‘के घर के डेराः घर नं २’मा घरभेटी, डेरावाल तथा घर र डेरा नै नभएको व्यक्तिको कथा रहेको उहाँले प्रष्ट पार्नुभयो । यो नै चलचित्रको सुन्दर पक्ष भएको उहाँको भनाइ छ ।

यही कारण यो चलचित्र सबैको मन छुने उहाँको भनाइ छ । उहाँले गाउँबाट सहर आएर संघर्ष गर्ने मानिसहरूको कथा भएको बताउनुभयो । त्यसैले यसलाई मौलिक कथा भन्न उहाँ रुचाउनुहुन्छ ।

‘के घर के डेराः घर नं २’ जेठ २ गते रिलिज हुँदै छ । चलचित्रको कथा साहित्यकार बुद्धिसागरले लेख्नुभएको छ ।

चलचित्रमा खगेन्द्र लामिछानेसँगै निश्चल बस्नेत, उपासना सिंह ठकुरी, आर्यन सिग्देल, केकी अधिकारी, प्रकाश घिमिरे, सिर्जना नापित, सञ्जोग रसाइली, रुविना घिमिरे, सुरज विष्टलगायत कलाकारलगायतको अभिनय छ ।

चलचित्र एप्पल इन्टरटेन्मेन्ट, ए प्लस इन्टरटेन्मेन्ट तथा नटराज क्रिएसनको प्रस्तुतिमा निर्माण भएको हो । कृष्णबहादुर थापाको सिनेमामा छायांकन रहेको छ । ‘के घर के डेराः घर नं २’को कार्यकारी निर्माताको रूपमा युवराज कार्की हुनुहुन्छ । निर्मातामा नकिमउद्दिन, शरद श्रेष्ठ र किरण महर्जन हुनुहुन्छ ।

Share This:
सम्बन्धित खबर
Loading...