खोटाङ, २७ वैशाख । नेपाल खेलकुद प्रतिष्ठान खोटाङले दिक्तेल बजारमा आयोजना गरेको ‘दोस्रो बृहत खोटाङ हलेसी खेलकुद, साहित्यिक तथा पर्यटन महोत्सव–२०८२’ आजदेखि आगामी जेठ–४ गतेसम्म सञ्चालन हुँदै छ ।
खेलकुदको माध्यमबाट खोटाङलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा परिचित गराउन, पर्यटकीय जिल्लाको रूपमा अघि बढाउन, खेलकुदलाई जिल्लाको गौरवको आयोजना बनाउन र सन् २०५० भित्र ओलम्पिक पदक जित्ने विभिन्न विद्याका खेलाडी जिल्लामै उत्पादन गर्ने उद्देश्यले महोत्सवको आयोजना गरिएको हो ।
महोत्सवमा ६३ वटा पदकका लागि १३ वटा इभेन्टमा एथलेटिक्स विद्याका खुला महिला/पुरूष हाफ म्याराथनसहित दौड, खुला महिला/पुरूष टेबलटेनिस, खुला पुरूष बुद्धिचाल र साहित्यिक प्रतियोगिता आयोजना गरिएको आयोजक नेपाल खेलकुद प्रतिष्ठान खोटाङका अध्यक्ष सञ्जयकुमार राईले जानकारी दिनुभएको छ । महोत्सवको पहिलो दिन आज (वैशाख–२७ गते) खुला महिला/पुरूष हाफ म्याराथनसहित एथलेटिक्स विद्याका सबै प्रतियोगिता सञ्चालन हुने आयोजकले जनाएको छ ।
खुला महिला/पुरूष २१ किलोमिटर हाफ म्याराथन प्रतियोगितामा नेपाली सेना, जनपद र सशस्त्र प्रहरीका तीन वटै क्लब, विभिन्न जिल्लाका धावकगरी ३५ जनाले सहभागिता जनाउने आयोजकले जनाएको छ । म्याराथनमा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ, छैटौँ र सातौँ हुनेले क्रमशः ७७ हजार ७७७, ५५ हजार ५५५, २५ हजार ५५५, १५ हजार ५५५, ११ हजार १११, सात हजार ७७७ र पाँच हजार ५५५ नगद पुरस्कारको साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।
जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा आयोजना गरिएको महोत्सवमा १० वर्षमुनिका छात्रछात्राका लागि एक माइल, १२ वर्षमुनिका छात्रछात्राका लागि दुई किलोमिटर, १५ वर्षमाथिका महिला/पुरूषका लागि १० किलोमिटर, ६० वर्षमाथि पुरूषका लागि दुई किलोमिटर, आमाहरूका लागि पाँच किलोमिटर, १२ वर्षदेखि १५ वर्षमुनिका छात्रछात्राका लागि सात किलोमिटर र ३५ वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौड प्रतियोगिता हुने छ । दौड प्रतियोगितामा सहभागी हुनका लागि करिब सात सय धावकहरू जिल्ला भित्रिसकेको आयोजकले जनाएको छ ।
दश वर्षमुनिका छात्रछात्रा एक माईल दौड प्रतियोगिताका प्रथम, द्वितीय र तृतीय हुनेले तीन हजार, दुई हजार, एक हजार, बाह्र वर्षमुनिका छात्रछात्रा दुई किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले चार हजार, तीन हजार र एक हजार पाँच सय, ६० वर्षमाथिका पुरूषको दुई किलोमिटर र आमाको पाँच किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद पाँच हजार पाँच सय, तीन हजार पाँच सय र दुई हजार पाँच सयका दरले पुरस्कार प्राप्त गर्ने जनाइएको छ । बाह्र वर्षदेखि १५ वर्षमुनिका छात्रछात्रा सात किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद सात हजार पाँच सय, छ हजार पाँच सय र पाँच हजार पाँच सयको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्नेछन् ।
पैतीस वर्षमाथिका राजनीतिज्ञ, जनप्रतिनिधि, पत्रकार, कर्मचारी, शिक्षक र व्यवसायीको दौडमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ हजार, रु १० हजार र रु सात हजार पुरस्कार पाउनेछन् । १५ वर्षमाथिका महिलारपुरूष १० किलोमिटरमा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः नगद रु १५ हजार, रु १० हजार, रु रू सात हजारको साथमा ट्रर्फी, मेडर र प्रमाणपत्र प्राप्त गर्ने छन् । महोत्सवको चौथो र पाँचौँ दिन ९वैशाख–३० र ३१ गते० खुला टेबलटेनिस र खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगिता सञ्चालन हुने जनाइएको छ । जिल्ला समन्वय समिति खोटाङको सभाहलमा बुद्धिचाल तथा दिक्तेलस्थित माटिकोरे खेलमैदानको खोटाङ बहुउद्देश्यीय कभर्डहलमा टेबलटेनिस प्रतियोगिता सञ्चालनको तयारी गरिएको छ ।
खुला सिनियर पुरूष टेबलटेनिस प्रतियोगिताअन्तर्गत प्रथम, द्वितीय र सेमिफाइनलिष्टले क्रमशः नगद २५ हजार, १२ हजार पाँच सय र सेमिफाइनलिष्ट दुई जनाले छ हजार दुई सय ५० का दरले पुरस्कार प्राप्त गर्नेछन् । खुला जुनियर पुरूष टेबलटेनिसमा प्रथम, द्वितीय र सेमिफाइनष्टिले क्रमशः १५ हजार, सात हजार पाँच सय र सेमिफाइनलिष्ट दुई जनाले तीन हजार सात सय ५० का दरले नगद प्राप्त गर्नेछन् ।
खुला जुनियर महिला टेबलटेनिस प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले १० हजार, पाँच हजार र सेमिफाइनष्टिले दुई जनाले क्रमशः दुई हजार पाँच सयका दरले नगद पुरस्कार पाउनेछन् । उनीहरूका लागि ट्रफी, मेडल र प्रमाणपत्रसमेत प्रदान गरिने आयोजकले जानकारी दिएको छ ।
खुला राष्ट्रिय बुद्धिचाल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय, चौथो, पाँचौँ र छैटौँ हुनेले क्रमशः नगद २५ हजार, १५ हजार, १० हजार, आठ हजार, सात हजार र चार हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । महोत्सवको अन्तिम दिन अर्थात् आगामी जेठ–४ गते साहित्यिक (गीत, गजल र कविता गायन तथा वाचन) कार्यक्रम राखिएको आयोजकले जनाएको छ ।
महोत्सव समापनको अवसरमा साहित्यिक क्षेत्रमा लामो समयदेखि कलम चलाउँदै आउनुभएका जिल्ला बाहिरका एक जना महिला साहित्यकारलाई नगदसहित सम्मान गर्ने तयारी गरिएको जनाइएको छ । महोत्सवका लागि जिल्ला समन्वय समिति खोटाङका प्रमुख सनबहादुर राईको संयोजकत्वमा मूल आयोजक समिति गठन गरिएको छ । दिक्तेल बजारस्थित सिंचाइ गेटबाट सुुरु हुने हाफ म्याराथन तथा दौड प्रतियोगितामा सहभागी हुने विभिन्न जिल्लाका धावक तथा दर्शकले जिल्लामा माहोल बनेको छ ।
छ दिनसम्म सञ्चालन हुने महोत्सवको अवसरमा करोडौँको कारोबार हुने अपेक्षा गरिएको उद्योग वाणिज्य संघ खोटाङले जनाएको छ । महोत्सवका लागि ३९ लाख ५५ हजार ८७ बजेट लाग्ने अनुमान गरिएको सहआयोजक नेपाल सितोरियो कराते संघ खोटाङका अध्यक्ष सुमन राईले जानकारी दिनुभयो ।