कर्मचारीद्वारा माथिल्लो तह संरक्षित भएका छन् : अख्तियार प्रमुख राई

14

काठमाडौँ, २४ वैशाख । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख प्रेम कुमार राईले अख्तियारमा उजुरी पर्दा माथिल्लो तहको मान्छेलाई जोगाउने गरेकोले भ्रष्टाचारको जरो उखेल्न नसकेको बताउनुभएको छ ।

बुधवार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उहाँले अख्तियारमा बलिको बोको कर्मचारी मात्र हुने अवस्था भएको भन्दै कर्मचारीले पनि कोबाट निर्देशित भएको कुरा खुलाउन नचाहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ठुला ठुला पहुँच भएको मान्छे नै लगेका छौँ । सूचना प्रविधिको क्षेत्रमा हामीले हाम्रो पहुँच देखाएका छौँ । मान्छेलाई परिचालन गर्ने माथिल्लो तहको मान्छे किन परेन भन्ने जनताको प्रश्न छ तर बलिको बोको त कर्मचारी मात्र हुने अवस्था छ तर माथिल्लो तहको मान्छे संग्लन छ कि छैन भनेर बयान दिने मान्छेले प्रमाणसहित भन्नुपर्छ । तर, कोही कोबाट परिचालन भएको भनेर नाम लिनै चाहान्नँ म आफैँ सबै व्यहोर्छु भन्ने छन् । त्यसले गर्दा भ्रष्टचारको जरो उखेल्न नसकेको हो ।’

उहाँले अनुगमन गर्ने निकाय धेरै हुदाँ पनि काममा नकारात्मक प्रभाव परी ढिलासुस्ती भएको बताउनुभयो । ‘अनुगमन गर्ने निकाय धेरै भएको जस्तो छ । सबैजना अनुगमन गर्ने तर काम चै खासै नभएको देखिन्छ । मेलम्ची अनुगमन गर्न कति जान्छन् ? कसको अधिकार कति हो ? मेरो अधिकार कति हो भनेर कसैले बुझेन । त्यसले पनि काममा ढिलासुस्ती भएको छ,’ उहाँले भन्नुभयो ।

उहाँले सिङ्गापुर, अमेरिकालगायतको देशबाट भ्रष्टाचारको पैसा ल्याउन नसकेको बताउनुभयो । उनले सरकारले वाइलाइटर एग्रिमेन्ट नगरेकाले भ्रष्टाचारको पैसा ल्याउन नसकेको भन्दै सिङ्गापुरले एग्रिमेन्ट गरी पैसा लैजान भनेको पनि जानकारी दिनुभयो ।

आज बैठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३४औँ वार्षिक प्रतिवेदन आव २०८०/८१ माथि छलफल गरिएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...