काठमाडौँ, २३ वैशाख । नेकपा (एमाले)का सांसद योगेश भट्टराईले कुलमान घिसिङलाई नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट हटाएकोमा पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई मुटुमै गोली लागेको जस्तो भइरहेको टिप्पणी गर्नुभएको छ ।
मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले कर्मचारी हटाउन पाउनु सरकारको अविशिष्ट अधिकार रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘केही कर्मचारीलाई सरकारले हटायो । यो सरकारको अविशिष्ट अधिकार पनि हो । यसमा समीक्षा गर्न सकिएला । तर, म कमरेड प्रचण्डलाई भन्न चाहन्छु– तपाईंले प्रधानसेनापतिलाई नै हटाउनुभएको थियो त ? एक पटक सम्झिनु त अस्तिको कार्यकालमा काम गरिरहेको मुख्य सचिवलाई हटाउनुभयो । अनि अर्को मुख्यसचिव ल्याउनुभयो । अनि केपी ओली नेतृत्वको सरकारले एउटा सहसचिवलाई हटाउँदा तपाईको मुटुमै गोली लागेको जस्तो किन भएको छ ? यो त मुटुमै गोली लागेको जस्तो भयो नि त ।’
साथै, उहाँले प्रचण्डले वर्तमान सरकार अप्राकृतिक, स्वार्थ समूह र विचौलियाले बनाएको भनी गरेको टिप्पणीप्रति आपत्ति जनाउनुभयो । प्रचण्ड संविधानको धारा ७६ (२) अनुसार प्रधानमन्त्री भन्दा प्राकृतिक र ओली सोही धाराअनुसार प्रधानमन्त्री बन्दा अप्राकृतिक भन्ने हुन नसक्ने उहाँको दाबी छ । उहाँले प्रचण्डलाई सिसाको घरमा बसेर अरुको घरतिर ढुङ्गा नहान्न आग्रह गर्नुभयो ।
‘विपक्षी दलको नेताले पटक–पटक सार्वजनिक भाषणमा पनि र यहाँ पनि भन्नुहुन्छ– यो सरकार अप्राकृतिक छ, स्वार्थ समूह, बिचौलिया । मलाई के लाग्छ भनेदेखि मेरो यतिमात्रै भनाइ छ– सिसाको घरभित्र बसेर अर्काको घरमा ढुङ्गा हान्ने प्रयास नहोस् । धारा ७६ (२) अनुसार बनेको पुष्पकमल दाहालजीको सरकार प्राकृतिक हुने, धारा ७६ (२) अनुसार बनेको केपी ओलीको सरकार अप्राकृतिक हुने ? यो कुन संविधानबाट उहाँले ब्याख्या गर्नुभयो ?’ प्रश्न गर्दै उहाँले भन्नुभयो ।