काठमाडौँ, २२ वैशाख । नेकपा (एमाले)का सांसद सूर्य बहादुर थापा क्षेत्रीले कांग्रेस–एमालेको सरकारले सहमतिमा काम गरिरहेको दाबी गर्नुभएको छ ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उहाँले सरकारले नीति तथा कार्यक्रम ल्याइसकेको र अब बजेट ल्याउने तयारीमा लागेको उल्लेख गर्दै थापाले अहिले दिनहुँ सरकारविरुद्ध चलखेल भइराखेको बताउनुभयो ।
उहाँले भन्नुभयो,‘आजै सरकार ढल्छ, भोलि नै ढल्छ, मैले सबै मिलाइसकेँ, अब रहँदैन जस्ता वक्तव्यबाजीहरुले हरेक दिन मिडिया रंगिने र समाजमा ध्वनी प्रदूषण हुनेक्रम जारी छ । तर, सरकार अघि बढिरहेको छ । त्यस्ता वक्तव्य र बकवासहरु निरर्थक सावित भएका छन् । पछिल्लो २० महिनाको शासन देखेकै हौँ । पाकिस्तानी मोडेलको अभ्यास त्यतिखेर नथालिएको होइन, फाइल खोल्ने हुँकार गरिएको थियो । तिनको हविगत के भएको छ ? त्यो नदेखेको होइन । त्यसको भोगाइ आज भद्रबन्दी गृहमा टोपबहादुर रायमाझी मानीयले भोग्नुभएको छ । कुशासनको रुप त्यसरी प्रकट भएको थियो । सुन तस्करीले सिंगै देश पहेलपुर भएकै थियो ।’
साथै उहाँले वक्तव्य र बकवासहरु निरर्थक सावित भइरहेको बताउनुभयो ।