‘ऊनको स्वीटर’ वर्षौँसम्म सम्झिने चलचित्र बनेको छ : विपिन कार्की

22

काठमाडौँ, २२ वैशाख । अभिनेता विपिन कार्कीले आफूले वर्षौँपछिसम्म सम्झिने चलचित्र ‘ऊनको स्वीटर’ बनेको बताउनुभएको छ ।

श्निबार पुतलीसडकस्थित स्टार मल्लमा आयोजित पत्रकार सम्मेलनमा अभिनेता कार्कीले केही वर्षपछि आफ्नो कामलाई फर्केर हेर्दा चलचित्र ‘ऊनको स्वीटर’ र पात्र धरणीधर काफ्लेको चर्चा हुने बताउनुभयो । उहाँले भन्नुभयो, “यस चलचित्रको व्यावसायिक नतिजाका विषयमा म भन्न सक्दिनँ, तर हामीले उठाएको विषय, यसको निर्माणले पनि यो वर्षौंसम्म रहने चलचित्र बनेको छ । यो नयाँ पुस्ताका लागि एउटा दस्तावेज पनि हुनेछ, ग्रामीण जीवनको । मैले आफ्नो उत्कृष्ट भन्ने पाँच चलचित्रमा यो पर्छ ।”

उहाँले यसअगाडि ‘जात्रा’, ‘हरि’, ‘नाका’, ‘सेल्फी किङ’ चलचित्र र उक्त चलचित्रमा निर्वाह गरेको पात्रलाई विशेष बताउनुभयो । ती चलचित्रको व्यावसायिक पक्षभन्दा पनि कलात्मक पक्षले आफूलाई आकर्षित गरेको उहाँले स्पष्ट गर्नुभयो । “मैले नाम लिएका चलचित्रहरू मेरा लागि खास हुनाका कारण नै त्यसका पात्र हुन्, विषय हुन् । ती अहिले हेर्नुस् वा पाँच वर्षपछि उस्तै ताजा लाग्नेछन् । त्यसमा भएका पात्र सजिलै तपाइँसँग जोडिनेछन्”, अभिनेता कार्कीले भन्नुभयो ।

उहाँले चलचित्रमा ‘गुरुङसेनी’ युवती र ‘काफ्ले ब्राह्मण’ युवकबीचको प्रेम सम्बन्धमा आउने जातीय अन्तर्विरोधको कथा समेटिएको बताउनुभयो । चलचित्रमा अभिनेता कार्कीको जोडीका रुपमा अभिनेत्री मिरुना मगर प्रस्तुत हुनुभएको छ । उहाँले चलचित्रका निर्देशक नवीन चौहानले पहिलोपटक कथा सुनाउँदा नै पात्रसँग जोडिएको महसुस गरेको बताउनुभयो । “म निर्देशक चौहानले बनाउनुभएका साङ्गीतिक श्रव्यदृश्यसँग प्रभावित थिएँ । यो चलचित्रमा काम गर्ने प्रस्ताव आउँदा मलाई निर्देशकले मेरो पात्र र परिवेससँगै एउटा गीतको सानो टुक्रा सुनाउनुभयो । मैले त्यही समयमा चलचित्रमा काम गर्छु भनेकी थिएँ । किनकि उक्त पटकथाले मलाई चलचित्रको संसारमा सहजै पु¥यायो”, अभिनेत्री मगरले भन्नुभयो ।

उहाँले चलचित्रमा आफूले ‘फूल’ नामक पात्रको भूमिका निर्वाह गरेको जानकारी दिनुभयो । उहाँका अनुसार उक्त पात्र आफ्नो मनको कुरा फ्याट्ट भनिहाल्ने र त्यसको परिणाम नसोच्ने किसिमले तयार गरिएको छ । “वास्तविक जीवनभन्दा उल्टो पात्र मैले चलचित्रमा निर्वाह गरेकी छु । त्यसकारण सुरुवाती समयमा केही डर पनि थियो, तर अभिनेता कार्कीसँग काम गर्दा अभिनयका केही आयाम सिक्न पाएँ । म बाल्यकालमै नेपाल छाडेर विदेश गएकाले पनि ग्रामीण जीवनलाई धेरै बुझ्न पाएकी थिइन् । तर, मैले चलचित्रमा निर्वाह गर्ने भूमिकामार्फत विभिन्न कला र संस्कृतिलाई नजिकबाट बुझेकी छु, ती चलचित्रका पात्रमार्फत उक्त संस्कृतिसँग जोडिएर जीवन बाच्न पाएँ”, अभिनेत्री मगरले भन्नुभयो ।

निर्देशक नवीन चौहानले चलचित्र नाम झैँ मुलायम कथामा बनेको बताउनुभयो । उहाँले भन्नुभयो,“मैले चलचित्रको कथालाई महसुस गरेर नै नाम राखेको हुँ । मैले कल्पना गरेको एउटा संसारलाई चलचित्रमा चित्रण गर्ने कोसिस गरेको छु । मैले यो चारवर्ष अगाडि नै सोचेको एउटा कथा थियो, अब केही दिनमा चलचित्र बनेर आउँदै छ ।” उहाँले आफूले साङ्गीतिक श्रव्यदृश्यमार्फत् भिन्नभिन्न कथालाई प्रस्तुत गरेका कारण पनि चलचित्र निर्देशन गर्न प्रेरणा मिलेको बताउनुभयो । “गीत र त्यसको लागि निर्माण गरिने श्रव्यदृश्यभन्दा चलचित्र निकै फरक छ भन्ने मैले बुझेर नै त्यहीअनुसार आफूले सक्ने काम गरेको छु”, निर्देशक चौहानले भन्नुभयो ।

चलचित्र ‘ऊनको स्वीटर’ मा पूर्वी नेपालको सुन्दरता, संस्कृतिलाई देख्न पाइने उहाँले जानकारी दिनुभयो । पूर्वी नेपालको पाँचथर जिल्लामा छायाङ्कन गरिएको चलचित्रमा परीक्षा लिम्बू, विल्सनविक्रम राई, सुनिल पोखरेल, माओत्से गुरुङ, प्रेम सुब्बालगायतका कलाकारले पनि अभिनय गर्नुभएको छ । निर्माण पक्षका अनुसार यही वैशाख २६ मा नेपालसहित विदेशमा समेत सो चलचित्र प्रदर्शन हुने छ ।

Share This:
सम्बन्धित खबर
Loading...