कार र मोटरसाइकल ठोक्किँदा बाबुछोरीको मृत्यु

21

रौतहट, २१ वैशाख । रौतहटको चन्द्रपुरमा कार र मोटरसाइकल एकआपस ठोक्किँदा बाबुछोरी दुई जनाको मृत्यु भएको छ । आइतबार बिहान पूर्वपश्चिम लोकमार्ग अन्तर्गत पश्चिम लच्का नजिकमा कार र मोटरसाइकल एकआपस ठोक्किँदा दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ ।

मृत्यु हुनेमा गरूडा नगरपालिका–२,गेडही गुठ्ठी निवासी ६० वर्षीय बलिराम सहनी र ४० वर्षीया उनकी छोरी उर्मिला देवी रहेका छन् । चन्द्रपुर नगरपालिका ४ स्थित सो सडकखण्डमा हेटौँडाबाट चन्द्रनिगाहपुरतर्फ आउँदै गरेको बा ६ च ३५२६ नम्बरको कारले चन्द्रनिगाहपुरबाट निजगढतर्फ जाँदै गरेको ना३प ९५१२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका डिएसपी राजकुमार राईले बताउनुभयो ।

दुर्घटनामा परी गम्भीर घाइते भएका दुवै जनाको उपचारको क्रममा मृत्यु भएको उहाँले बताउनुभयो । बुबा बलिराम सहनीको चन्द्रपुरस्थित हाइवे ट्रमा सेन्टर र छोरी उर्मिलाको एलएस न्यूरो हस्पिटल बारामा मृत्यु भएको डिएसपी राईले पुष्टि गर्नुभयो ।

उहाँका अनुसार सवारी साधन र कार चालक जिल्ला मकवानपुर हेटौँडा उपमहिनगरपालिका–१२ बस्ने ४३ वर्षीय कुमार पोखरेललाई नियन्त्रणमा लिइएको छ । यस घटनाको सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...