जनकपुर, २१ वैशाख । नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले नेपालमा गणतन्त्रको विरुद्धमा भइरहेका प्रयत्नहरूको कडा आलोचना गर्दै वंशवाद र अनिर्वाचित सत्ताको अभ्यासलाई एमालेले कहिल्यै स्वीकार नगर्ने बताउनुभएको छ ।
शनिबार जनकपुरधाममा आयोजित एमालेको धनुषा आठौँ जिल्ला अधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै पोखरेलले भन्नुभयो, “श्री ५ बा र श्री ५ नातिको व्यवस्था एमालेको दृष्टिमा अस्वीकार्य छ । हामी त्यस्तो सत्ताविरुद्ध एक्लै भए पनि लड्छौँ, र पराजित गर्छौँ ।”
उहाँले पूर्वराजाको नाममा पुनःसत्तामा फर्कने चाहना बोकेका तत्वहरूले संविधान र जनमतको अपमान गरिरहेको बताउँदै त्यो प्रयास सफल नहुने दाबी गर्नुभयो । “पूर्वराजा नागरिक हुन् । यदि उनलाई सत्ता चाहिएको हो भने निर्वाचनको बाटो रोजुन्,” पोखरेलले भन्नुभयो ।
जनताको सङ्घर्ष, त्याग, तपस्या तथा आन्दोलनबाट मुलुकमा लोकतन्त्रको स्थापना भएको उल्लेख गर्दै पोखरेलले आमनागरिक राजतन्त्रको पक्षमा नरहने बताउनुभयो । देशमा अर्थतन्त्र सङ्कटमा परेको अवस्थामा समस्या समाधान गर्दै अर्थतन्त्र सुधार गर्न, मुलुकको समग्र विकास गर्न दुई ठुला दल कांग्रेस र एमालेबीच समन्वय भइ वर्तमान सरकार गठन भएको उहाँले जानकारी दिनुभयो ।
विगतमा पनि राणाशासन, पञ्चायती शासनविरुद्ध तथा लोकतन्त्र स्थापनका लागि नेपाली कांग्रेस र एमालेले संयुक्त रूपमा आन्दोलन गरेर सफल भएको स्मरण गर्दै उहाँले अहिले पनि नेपालमा आर्थिक समृद्धि र विकासका लागि दुवै पार्टी हातोमालो गरेर अगाडि बढिरहेका उल्लेख गर्नुभयो ।
एमालेको जिल्ला अधिवेशबाट नेतृत्व चयन गर्दा क्षमतावान् र पार्टी तथा जनताका लागि काम गर्नसक्ने व्यक्तिलाई छनोट गर्नुपर्नेमा पोखरेलले जोड दिनुभयो । उहाँले कांग्रेससँग एकातिर प्रतिस्पर्धा छ भने एकातिर देश चलाउने जिम्मेवारी रहकाले जिम्मेवारीपूर्वक आफ्नो भूमिका निर्वाह गर्न पार्टी कार्यकर्तालाई निर्देशनसमेत दिनुभयो ।
एमालेका केन्द्रीय सचिव रघुवीर महासेठले एमाले मधेशमैत्री पार्टी रहेको भन्दै राजतन्त्र, शोषक र जनताको हितविपरीत कार्य गर्ने विरुद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिनुभयो । “हामी विकास र समृद्धिका पक्षमा लागेको छौँ । मुलुकभित्र शान्ति कायम गर्न सबै सतर्क र सचेत हुनु जरुरी छ,” उहाँले भन्नुभयो ।
एमालेका धनुषा इन्चार्ज एवम् पोलिटब्यूरो सदस्य जुली महतोले वर्तमान सरकार मुलुकको विकासमा केन्द्रित रहेकाले सबैले सहयोग गर्नुपर्ने आग्रह गर्नुभयो । एमालेका जिल्ला अध्यक्ष राजकिशोर यादवको अध्यक्षतामा आज कार्यक्रम भएको थियो ।
धनुषामा पार्टीका १४ हजार १३३ क्रियाशील कार्यकर्ता रहेका छन् । शनिबारदेखि तीन दिन सञ्चालन हुने अधिवेशनले धनुषाको नयाँ नेतृत्व चयन गर्नेछ ।