काठमाडौँ, १९ वैशाख । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)का अध्यक्ष डा.बाबुराम भट्टराईले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम जनताको जीवनमा प्रभाव पार्ने खालको नभएको बताउनुभएको छ ।
सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमपछि संसद् भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यो नीति सामान्य रुपमा पास भएको प्रथम श्रेणीमा नपरेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘सुशासनको क्षेत्रमा भ्रष्टाचार नियन्त्रण गर्ने अंगहरुलाई बलियो बनाउछौँ र सुधार गर्छौँ भन्न सक्नुपर्थ्यो त्यो नभन्दा त्यसलाई निरन्तरता जस्तो भयो । यो सामान्यरुपमा पास त भयो तर फस्ट डिभिजनमा आएन । जनताको जीवनमा प्रभाव पार्ने, जो मान्छेले अपेक्षा गरेको छ त्यो चै आएन । त्यो हुनुमा उहाँहरुको दृष्टिकोणमा समस्या पर्यो ।’
उहाँले नेपाल कृषि प्रधान देश भएकाले १० वटा कुरा गर्नुको साटो वैज्ञानिक भूमि सुधार गर्नेछौ भन्नुपर्ने बताउनुभयो ।
‘नेपाल अहिले पनि कृषि प्रधान देश हो । वैज्ञानिक भूमि सुधार भनेर हाम्रो संविधानमा उल्लेख छ, त्यसलाई १० वटा कुरा गर्नु साटो वैज्ञानिक भूमि सुधार गर्ने छौँ भने हुन्छ यसले आशा पनि जगाउँछ,’ उहाँले भन्नुभयो ।
उहाँले देशको आर्थिक विकास क्रमिक भइरहेको भन्दै २ अंकको वृद्धिदर नघटेको बताउनुभयो । उहाँले आर्थिक वृद्धिदर थप हुने गरी आर्थिक नीति नबनेको बताउनुभयाखे ।