ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन : सांसद कार्की

24

काठमाडौँ, १४ वैशाख । नेकपा (माओवादी केन्द्र) का सांसद गंगा कार्कीले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम रहेको बताउनुभएको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै उहाँले अहिलेको सरकारलाई एक मिनेट पनि शासन गर्ने छुट नरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘ शिक्षकलगायतको जायज माग पूरा गर्न र शिक्षकहरुलाई विद्यालय फर्काउन सरकारसँग म जोडदार माग गर्दछु । आज सरकारको असक्षमताले सबै क्षेत्रमा अस्तव्यस्तता र आन्दोलन भइराखेको छ । ओली सरकारमै रहेका महत्त्वपूर्ण नेताहरुले सार्वजनिक रुपमै यो सरकार असफल भएको र राजीनामा दिनुपर्छ भनिरहेका छन् । चौतर्फी असफलताको घेराबन्दीमा परेको इतिहासकै सबैभन्दा निकम्मा, असक्षम, लाछी र बदनाम ओली सरकारलाई एक मिनेट पनि सरकारमा बस्ने नैतिकता छैन ।’

साथै उहाँले सरकारले शिक्षकहरुको माग सम्बोधन गर्न तयार नहुँदा देशभरका बालबालिकाले पढ्न नपाइरहेको बताउनुभयो । उहाँले लाखौँ विद्यार्थीको भविष्यमाथि ओली सरकारले जानाजानी खेलबाड र मजाक गरिराखेको बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...