- आकांक्षा धामी
काठमाडौँ, १४ वैशाख । २००२ साल थियो । दीक्षा चापागाईं ताप्लेजुङबाट काठमाडौँ आइपुगिन्, हातमा केवल एउटा सपना लिएर—कम्प्युटर सिक्ने । भक्तपुर डेरा, पुतलीसडकको संस्थामा सिकाइ । सहर नयाँ थियो, तर दृश्यहरू पुराना लाग्थे—पुराना जति दुःखद् ।
काठमाडौँको भिडभाड, धुवाँधुलो र सडकपेटीको हल्लाहरुकाबीच एकजना स्त्री थिइन् दीक्षा । जो फोहोरको थुप्रोमा हराएका अनुहारहरूमाथि आमाको न्यानो दृष्टि फाल्थिन् । त्यो २००२ सालतिरको कुरा थियो । दीक्षा चापागाईं ताप्लेजुङबाट राजधानी आएकी थिइन् । कम्प्युटर सिक्ने सपना बोकेर । तर, सपनाको गन्तव्यले उनलाई अर्कै मोडमा पुर्यायो । जहाँ आफ्ना सपनाभन्दा ठुला अरूका घाउहरू देखिए ।
नेपाल न्यूज बैंकसँगको कुराकानीका क्रममा उहाँका आँखा घरी खुसीले रसाउथे र घरी पीडाले छछल्किन्थे । ‘मेरो हृदय नै मेरो प्रेरणाको स्रोत हो,’आँखामा पुराना दिनको ओभानो सम्झनाको थोपा लुकाउँदै उहाँले सुनाउनुभयो ।
पुतलीसडकको गल्लीभित्र गन्तव्यतिर हिँडिरहँदा, उनले देखिन्, ‘बालबालिका, वृद्धवृद्धा, मानसिक रोगी, लाचार मान्छेहरू फोहोरको थुप्रोमा थलिएका । बाँचिरहेका तर जिउँदो छैन जस्तो देखिने ती शरीरहरू । शरीरमा दिशापिसाब लिप्पिएका, कपडाको नाममा च्यातिएका झुत्रा कपडा, आँखामा भोकको आँसु ।’
त्यसदिनदेखि दीक्षाको जीवनले अर्कै मोड लियो । उहाँले भन्नुभयो, ‘ती सबै म जस्तै लाग्थे–मेरो आमा, बाबा, भाइबहिनी, छोराछोरी जस्तै ।’
सुरुमा कम्प्युटर सिक्थिन्, साँझपख झोलामा डेराबाट लिएको बाँकी खाना बोकेर ती सडकमा थलिएका मानिसहरूलाई खुवाउने गर्थिन् दीक्षा । जब उनले १५ सय रुपैयाँको तलबको जागिर पाइन्, त्यहीँ तलबबाट ६ सय तिरेर लाजिम्पाटमा कोठा भाडामा लिएर आफैँ एउटा सानो आश्रय स्थापना गरिन् । अनि सुरु भयो जीवनभरको ‘आमा बन्ने’ यात्रा । अनि बिर्सिइन् सयौँ अनाथ र असाहयहरुको आमा बन्दाबन्दै वैवाहिक जीवनको सुखसयल ।
तर, बाटो सजिलो थिएन । घरबेटीले कोठाबाट निकालिदिने, समाजले औँला ठड्याउने, सहयोगीको मुखमा पनि घोच्ने शब्दहरु । यी सबै सहेर पनि उनी कहिल्यै रोकिइनन् । एकपछि अर्को गर्दै उनले सडकबाट, ओडारबाट, अस्पतालको चौरबाट, जंगलका कुनाबाट बच्चाहरू उठाइन् । कोही जन्मिएको भोलिपल्ट फालिएका, कोही हराइएका, कोही त निदाएर आँखा खोल्न नसक्ने । कोही बाबुको पहिचान विनामा बेबारिसे शिशुहरु उनका प्रिय बने ।
२३ वर्ष भयो, अहिले उनको साथमा ६८ जना छन् । सबैजना उनका ‘छोरा–छोरी’। कोही स्कुलमा छन्, कोही कलेजमा, दुईजना त अहिले रसियामा उच्च शिक्षाका लागि छन् । यो कुनै संस्था होइन, कुनै अनाथालय होइन, ‘यो हाम्रो सानो स्वर्ग हो,’ दीक्षा भन्नुहुन्छ ।
यसो भन्न सजिलो हो, तर जुन आँसु उनले पगालेर आशाको घर बनाइन्, त्यो हजारौँ घाउ र रातभरको पीडासँगको संघर्षबाट सम्भव भएको हो । र खडा गरिन ‘पवित्र समाज सेवा–पिएसएस नेपाल’ नामक संस्था । अनि सुरु गरिन् विधिवत र वैधानिक समाज सेवाको अविराम यात्रा ।
उहाँका अनुसार अहिलेसम्म हजारौँलाई सेवा दिइसकेकी छिन् दीक्षाले । आश्रममा आउने प्रत्येक अनुहारको आफ्नै पीडा छ– कोही फालिएका, कोही छाडिएका, उनी नै हुन् अशायहरुकी आमा, बाबा, गुरु र अभिभावक । ‘नजन्माए पनि जन्माएजत्तिकै माया दिएर काख दिएको छु,’ उहाँ भन्नुहुन्छ ।
आफ्ना सन्तान जन्माएर भाग्ने, छाडेर जाने, हराउने… यस्ता कैयौं घटनाहरूले दीक्षा चापागाईंको मनलाई झस्क्याउँछ तर कमजोर बनाउँदैन । विगत २३ वर्षदेखि उनले त्यस्ता थुप्रै निर्दोष अनुहारहरूलाई अँगालोमा बाँधिन्–जसको कोही थिएन, तर आज उनीहरूका लागि ‘सबैथोक’ को रूपमा दीक्षा उभिनुभएको छ ।
दिक्षाले कुनै बच्चा जन्माएकी छैनन् । तर, उनले दिएको माया, स्नेह र काख त्योभन्दा हजार गुनाले गहिरो छ । उहाँ भन्नुहुन्छ, ‘उनीहरूका लागि आमा पनि म हुँ, बाबा पनि म नै । नजन्माए पनि जन्माएजस्तो माया दिएर हुर्काएकी छु ।’
प्रेम, समर्पण र निःस्वार्थ सेवाले भरिएको यो संसार, जुन उनले आफ्नै पौरखले सिर्जना गरेकी छिन् । ‘यहाँ कोही पनि अनुहार आँशुमा लिप्त हुँदैन, दिक्षा दृढ आवाजमा भन्नुहुन्छ, ‘यहाँ कोही पनि डराएर निदाउँदैन ।’
आज ती बच्चाहरू दिक्षालाई कोही ‘ममी’ र कोही ‘मामु’ भन्छन् । उनीसँग भोक लाग्दा भन्छन्, ‘ममी भोक लाग्यो ।’ जब दिक्षा बिरामी पर्छिन्, बालबालिकाले चिन्तित स्वरमा सोध्छन्, ‘ममी के भयो ?’
यसैगरी मातातिर्थ औँशीको दिन सबैजना दिक्षालाई टिका लगाउने गरेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, ‘मातातिर्थ औसीको दिन उनीहरु मलाई टिका लगाउँदै कहिले रोग नलागोस्, सधैँ खुसी हुनु, कहिलै नरुनु, हजुरले गर्व गर्न लायक हामी बन्छौँ कहिल्यै दुःख दिँदैनौँ भन्छन् ।’
दिक्षाका दुई छोरीहरू अहिले पढ्न परदेश गइसकेका छन् । नियमित फोन गर्छन्, ममीलाई सम्झन्छन् । उहाँ भन्नुहुन्छ, ‘बाहिर पठाउन पाउँदा गर्व लाग्यो, आफैँ हुर्काएको फल देख्दा मन गदगद् हुन्छ ।’
समाजबाट सहयोग आउने गर्छ, तर घोच्ने तीरहरू पनि पर्छन्, कहिलेकाहीँ दाताहरूको नजरबाट निस्किएको शब्दले पोल्छ । तर, दिक्षा थाक्दिनन्, चुक्दिनन् । भन्नुहुन्छ, ‘जति अप्ठ्यारो आयो, मन दुख्यो, आशु आयो—तर यो कामले जुन सन्तुष्टि दिएको छ, त्यो मेरो आत्माले मात्र जान्दछ ।’
आज जब कसैले भन्छ, ‘तिमी सचेत बन, बालबालिका ठुला हुँदैछन्, कतै बाहिरजस्तो घटना नघटोस्,’दिक्षा डराउँदिनन्, सजग हुन्छिन् । ‘हामी हरेक हप्ता मिटिङ गर्छौं, उहाँ भन्नुहुन्छ, ‘सबैजना कुरा राख्छन् । गुनासो भए सुनिन्छ, समाधान खोजिन्छ ।’
यो कुनै धर्मशाला होइन, न कुनै औपचारिक संस्था । यो हृदयले चलेको घर हो । जहाँ एक नारीले आफूभन्दा अरूका लागि बाँच्ने बाटो रोज्नुभएको छ । उहाँ भन्नुहुन्छ, ‘यो मेरो जीवन हो, यतै सन्तोष छ । विवाह नगरेर केही गुमेको छैन ।’
दिक्षा चापागाईं एक आमा, एक गुरु, एक संरक्षक । जसको प्रेम, त्याग र कर्मले थुप्रैको जीवन फेरिएका छन् । त्यो सानो घरभित्र ठुलो संसार अडिएको छ । जहाँ माया छ, विश्वास छ, र छ एक ऊर्जाशील प्रेरणा ।
कसैले जीवनको अर्थ विवाहमा खोज्छन्, कसैले करियरमा, कसैले सन्तानमा । तर दिक्षाको जीवन भने अर्कै धुनमा बगिरहेको छ । जहाँ सन्तान आफैँ जन्माएकी होइनन्, तर माया दिएकी छन् । उहाँ भन्नुहुन्छ, ‘यो संसार अलि फरक छ । हृदयले मात्र गर्न सकिने काम हो । त्यो हृदयबिनाको सेवा, सेवा हुँदैन ।’
२३ वर्षदेखि साना नानीहरूलाई माया, काख र भविष्य दिइरहेकी दिक्षा समाजलाई नयाँ आँखाले हेर्ने दृष्टिकोण दिन चाहन्छिन् । ‘कसैले घोचेर बोले पनि गुनासो गर्दिन, उहाँ भन्नुहुन्छ, ‘पुराना लुगा भए पनि खुला मनले दिऔं । त्यो लुगामा माया छ कि छैन, म त्यसैलाई हेर्छु ।’
यस सानो स्वर्गमा, जतिबेला पनि कोही न कोही आउँछ । दसैँ होस् या तिहार, होली होस् या नयाँ वर्ष–एउटा खाजा, केही खाद्यन्न, केही लुगाफाटा लिएर । उनीहरूको नजरमा त्यो ‘सामान’ भन्दा ठुलो कुरा हुन्छ ‘मन’ । ‘गुन्द्रुक र भात भएपनि सफा मनले दिएको हो भने त्यो दस बोरा चामलभन्दा ठुलो हुन्छ,’ दिक्षा मुस्कुराउँदै सुनाउनुहुन्छ ।
अब दिक्षाको सपना छ । स्कुल र कलेज पढ्ने बालबालिकाका लागि छुट्टै होस्टल बनाउने । साथै एउटा मेडिकल रुम बनाउने जहाँ बिरामी हुँदा सुत्न, आराम गर्न र उपचार गर्न मिलोस् । ‘भवन त बनेको छ, धेरैको सहयोगले,’ उहाँ भन्नुहुन्छ, तर अझै धेरै गर्न बाँकी छ ।’
पाँच रोपनी क्षेत्रफलमा फैलिएको यो आश्रम नगरपालिकाले दिएको जग्गामा बनेको हो । आज संसारभर छरिएका नेपालीहरूको सहयोगले बनिसकेको आश्रम अब ‘अझ राम्रो, अझ सुरक्षित’ बनाउने तयारीमा छ दिक्षा ।
दिक्षा भन्नुहुन्छ, ‘म भगवानप्रति आभारी छु । अर्को जन्म भयो भने पनि मलाई यही जीवन, यही हृदय, यिनै हातखुट्टा देऊ । अरू केही चाहिँदैन ।’ उहाँ जन्म दिएकी आमा होइनन्, तर हजारौंलाई जीवन दिएकी आमा हुन् । बुढानिलकण्ठ नगरपालिका–४ मा रहेको टोखा बजारमाथि रहेको पवित्र समाज सेवा नेपाल उहाँले सञ्चालन गरिरहेको पवित्र घर हो जहाँ धेरैले आश्रय पाइरहेका छन् ।