काठमाडौँ, १० वैशाख । नेकपा (माओवादी केन्द्र)ले प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षकका माग पूरा गर्नभन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेको बताएको छ ।
बुधबार पत्रकार सम्मेलन गर्दै प्रवक्ता अग्नि सापकोटाले शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग माग समेत गर्नुभयो । साथै आउँदो १२ गतेदेखि संसद् अधिवेशन नहुने पनि माओवादीको दाबी छ ।
उहाँले भन्नुभयो, ‘अहिले शिक्षा ऐनको माग गर्दै शिक्षकहरू सडकमा छन् । तर, प्रधानमन्त्री शिक्षकका माग पूरा गर्नु भन्दा उनीहरुलाई होच्याउने, अपमानित गर्ने काम गरिरहेका छन् । आउँदो १२ गतेदेखि संसद अधिवेशन हुँदै छ । शिक्षा विधेयक फास्ट ट्रयाकबाट पारित गरेर शिक्षकका जायज माग पूरा गर्न सरकारसँग जोडदार माग गर्दछौँ ।’
त्यस्तै, वर्तमान सरकार प्राविधिक रुपमा अस्तित्वमा रहे पनि राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको पनि माओवादीको भनाइ छ ।
‘वर्तमान सरकार प्राविधिक रुपमा त अस्तित्वमा छ राजनीतिक रुपमा आफ्नो वैधानिकता गुमाइसकेको छ । यस अर्थमा आफ्नो औचित्य स्थापित गर्न पूर्णतः असफल भएको सरकारलाई एकदिन पनि सत्तामा रहने नैतिक अधिकार छैन । वर्तमान सत्तागठबन्धन अप्राकृतिक, अपारदर्शी र संवैधानिक नैतिकताविपरीत बनेकाले देश र जनताको हितमा एउटा पनि राम्रो काम गर्न सकेको छैन,’ उहाँले भन्नुभयो ।
वर्तमान दुईदलीय गठबन्धन सरकारले यस अघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार विरोधी अभियानलाई उल्ट्याएको मात्र नभइ सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानी छानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको माओवादीको आरोप छ ।
उहाँले भन्नुभयो, ‘वर्तमान दुई दलीय गठबन्धन सरकारले यस अघिको प्रचण्ड नेतृत्वको सरकारले गरेका भ्रष्टाचार विरोधी अभियानलाई उल्ट्याएको मात्र छैन, सुशासन कायम गर्न लागेका अधिकारीहरुलाई छानी छानी दण्डित गर्ने, अपमानजनक तरिकाले पदबाट हटाउने, राजीनामा दिन बाध्य गराउने जस्ता काम गरिरहेको छ । आफ्ना मान्छेको निर्लज्ज ढंगले संरक्षण गर्ने, विपक्षहरुप्रति छानी छानी सत्ता र शक्तिको दुरुपयोग गर्दै प्रतिशोधपूर्ण कारबाहीको श्रृङ्खला नै खडा गरेको छ । यो सरकारले आजसम्म जे जस्तो निर्णय गरेको छ ती सबै बिचौलियाहरूको स्वार्थमा जनहित र राष्ट्रय हितविपरीत छन् ।’
यसैगरी, भारतको जम्मू–कश्मिरमा भएको अतिवादी हमलामा नेपाली नागरिक सुदीप न्यौपानेसहित पर्यटकहरूको निधन भएको घटनाप्रति माओवादीले घोर भत्र्सना पनि गरेको छ ।