काठमाडौँ, ९ वैशाख । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिलेको सरकारले अब एक दिन पनि नेतृत्वमा बस्ने औचित्य गुमाएको बताउनुभएको छ । नेपाल कम्युनिस्ट पार्टीको ७७औँ स्थापना दिवस तथा १५६औँ लेनिन जयन्तीको अवसरमा बोल्दै उहाँले केपी ओली नेतृत्वको सरकारको जन्म नै भष्ट्राचारीको रक्षा गर्न भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिले देशमा राजनीतिक जस्तो स्थिति बनेको छ त्यस्तै चुनौतीपूर्ण स्थिति बनेको छ । अहिलेको सरकार खासगरी केपी ओली नेतृत्वको जो सरकार छ यसको जन्म नै अप्राकृतिक छ । अलोकतान्त्रिक छ, अपार्दर्शी छ, असंवैधानिक छ । यसले गर्ने भनेको भष्ट्राचारीको रक्षा हो । यो सकार अब एक दिनमा पनि नेतृत्वमा बस्ने औचित्य गुमाइसकेको छ, हजारौँ र लाखौँ शिक्षक सडकमा छन् । ती शिक्षकको समस्या समाधान गर्न गम्भीर हुनुको सट्टा सरकार र त्यसको नेतृत्व गर्ने प्रधानमन्त्री शिक्षकलाई अपमानित गर्ने, गाली गर्ने, तिनलाई हप्काउने बाहेक उहाँले केही पनि गर्नुभएन । यो भन्दा लाजमर्दो कुरा के हुन्छ । लाखौँ शिक्षक र देशभरिका विद्यालयहरु संकटमा छन् ।’
साथै उहाँले सरकार शिक्षका माग सम्बोधन गर्न लाग्नुको साटो उनीहरुलाई अपमानित गर्न लागेको बताउनुभयो । उहाँले सरकारले शिक्षकहरुलाई अपमानित गर्ने काम छोडेर गम्भीररुपमा संवाद गर्न समेत सरकारलाई सुझाव दिनुभयो ।
उहाँले भन्नुभयो, ‘सरकारले आम शिक्षकहरुलाई अपमानित गर्ने काम छोडेर तुरुन्तै गम्भीर ढंगले वार्ता, संवाद गरेर हल गर्न कोसिस गरोस्, शिक्षकहरुको मुख्य समस्या भनेको ऐन निर्माणको कुरा हो । मैले धेरै मेहनत गरेर त्यो विद्येयक संसदमा पुर्याएको छु । उपसमितिमा छलफल छ । त्यसलाई छलफल गरेर टुंग्याउनेबारे शिक्षकहरुसँग किन कुरा गरिँदैन ? किन शिक्षकहरुलाई अपमानित गरिन्छ ?’