पोखरा, ६ वैशाख । गृहमन्त्री रमेश लेखकले सत्ता साझेदार दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले)बीचको सम्बन्धमा कुनै समस्या नरहेको बताउनुभएको छ ।
नेपाल प्रेस युनियन कास्कीद्वारा पोखरामा आयोजित पत्रकार भेटघाट कार्यकममा उहाँले दल एवम् सत्ता साझेदारीमा कुनै समस्या नभएको भन्दै सरकार पनि नढल्ने स्पष्ट पार्नुभयो ।
सरकार सहमतिका साथ नै अघि बढिरहेको भन्दै उहाँले भन्नुभयो, ‘साथीहरुले सरकार ढल्छ–ढल्छ भनिदिनुहुन्छ अनि ढल्दैन है भनेर हामीले भनिरहनुपरेको छ ।’
पछिल्ला समयमा संविधानका साथै संघीय लोकतान्त्रि गणतन्त्र विरोधी गतिविधिहरू देखा परिरहेको बताउँदै उहाँले संविधान विरोधी एवम् लोकतन्त्र विरोधी गतिविधि जनताले नरोज्ने स्पष्ट पार्नुभयो ।
लोकतन्त्रमा स्वतन्त्र प्रेस तथा सञ्चारमाध्यम रहने उल्लेख गर्दै लोकतन्त्र विरोधीहरूको पहिलो प्रहार नै सञ्चार माध्यममाथि हुने गरेको हामीले विगतमा भोगिसकेको उल्लेख गर्नुभयो ।
अघिल्लो पुस्तका साथै वर्तमान पुस्ताको अथक प्रयासबाट वर्तमान संविधान बनेको उल्लेख गर्दै उहाँले यसको रक्षा गर्नु सबैको कर्तव्य भएको बताउनुभयो ।
नेपालमा सात दशकको अन्तरालमा सातवटा संविधान बन्नुले अस्थिरतालाई देखाउने बताउँदै उहाँले वर्तमान संविधानलाई पनि अन्त्य गरी मुलुकलाई पुन अँध्यारोतर्फ धकेल्न नदिइने उल्लेख गर्नुभयो ।
लोकतन्त्रमा कमीकमजोरीलाई पनि सुधार गर्दै जान सकिने बताउँदै उहाँले यसमा नागरिक सर्वोपरी हुने स्पष्ट पार्नुभयो ।
संविधान विरोधी गतिविधिका माध्यमबाट अराजकता, वितण्डा मच्चाउन खोज्ने प्रवृत्तिलाई राजनीतिक रुपमा जवाफ दिनुका साथै कानुन बमोजिम पनि अघि बढिने उहाँको भनाइ छ ।
आमाको नाममा नागरिकता प्रदान गर्ने सम्बन्धमा विधेयक अघि बढाइसकिएको बताउँदै उहाँले यो समस्या चाँडै नै समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।
आफू गृहमन्त्रालयको जिम्मेवारी सम्हाले यताको नौ महिनाको अवधिमा कानुनी एवम् नीतिगत व्यवस्थालाई प्रभावकारी बनाउनेतर्फ लागेको उहाँले जानकारी दिनुभयो ।
आवश्यक विभिन्न कानुनहरू संसद्मा प्रस्तुत हुने गरी तयारी भएको उहाँले जानकारी दिनुभयो । अपराध नियन्त्रण, लागु औषध, आत्महत्या, साइबर अपराध जस्ता विभिन्न चुनौतीको सामना गर्ने कुरामा सरकार दृढ रुपमा अघि बढेको उहाँले जानकारी दिनुभयो ।