नेपाल सांस्कृतिक महासंघको नेतृत्वमा बसेर काम गरेको १९ वर्ष वित्यो । लोकतन्त्रमाथि विश्वास गर्ने देशभरका कलाकर्मीहरुको छाता संस्था महासंघ अब तेस्रो महाधिवेशनमा जुटेको छ । म यतिबेला तेस्रो महाधिवेशन सम्पन्न गराउने दौडमा छु । यतिबेला कोशी र मधेस प्रदेशका सबै जिल्लाहरुको अधिवेशन सम्पन्न भइसकेको छ । केन्द्रीय महाधिवेशनका लागि सबै जिल्लाको अधिवेशन सक्नुपर्ने बाध्यता छ । अबको तीन महिनभित्र महाधिवेशन सम्पन्न गराउने दौडमा छौँ ।
देशभरका कलाकर्मीको भावना बुझ्दा मातृ संस्था नेपाली कांग्रेसबाट सांस्कृतिककर्मीहरु अर्थात महासंघ उपेक्षित भएको अनुभव भइरहेको छ । सांस्कृतिक महासंघ भनेको गीत गाउने, नाच्ने, हसाउने, रमाइलो गर्ने र कुनै चुनावका लागि काम गर्ने संस्था मात्र हो भन्ने बुझाइ भयो । केही नेताहरुको यसको धेरै भूमिका बुझेका छन् । कुनै सन्देश प्रवाहका लागि संस्थाको महत्त्व ठुलो छ भन्ने बुझेका छन् । कुनै पनि मुद्दा वा विषयवस्तुको सन्देश प्रवाह गर्न कलाकारिताका विभिन्न माध्यम वा विधाहरु महत्त्वपूर्ण छन् भन्ने बुझेका छन् । तर, सबैले यसको महत्त्व बुझेका छैनन् ।
गीत, संगीत, नाटक, अभिनय, कविता, चित्रकला आदीको महत्त्व छ भन्ने कुरा कमै नेताले मात्र बुझेका छन् । यसको महत्त्व छ भन्नेमा कम नेताको मात्रै धारणा पाएका छौँ । धेरैले गीत गाउने र नाच्ने मात्रै हो भन्ने भावना पाएका छौँ । नेपाली कांग्रेस पार्टीभित्र बुझाइ के रहेछ भने कि जेल गएको हुनुपर्यो कि विद्यार्थी आन्दोलन गरेको हुनुपर्यो भन्ने मान्यता रहेछ । अझ दलित, महिला, जनजाति हुनुपर्यो भन्ने मान्यता रहेछ । उ मात्र नेता बन्ने र उसले मात्र अवसर पाउनुपर्छ भन्ने बुझाइ रहेछ । तर, कलाकारिता वा सांस्कृतिक महासंघको भूमिका र महत्त्वलाई बुझ्न सकिएन ।
कलाकारिताको योगदान ठुलो छ, यसले अर्थात् संस्कृतिले समाज परिवर्तन गराउँछ, सामाजिक चेतना बढाउछ भन्ने भावना नेताहरुमा छैन । सांस्कृतिक क्षेत्रको महत्त्व धेरै नै थियो भन्ने कुराहरुको महसुस जननायक बिपी कोइरालाले गर्नुभएको पाइन्छ । किनकी विसं.२००८ सालमा नेपाल सांस्कृतिक परिषद् गठन गरेको कुराले त्यसलाई पुष्टि गर्छ । त्यतिबेला परिषद्को अध्यक्ष बीपी स्वयम् आफैँ हुनुभयो । जसमा सिद्धिचरण श्रेष्ठ, लेखनाथ पौडेल, लक्ष्मीप्रसाद देवकोटालगायतका थुप्रै व्यक्तित्वहरु समावेश थिए । परिषद् किन गठन गरियो वा किन खोलियो भन्दा त्यतिबेला सायद मिडिया कमजोर थियो होला । कविता, कथा, उपन्यास लेखिने गरेको र त्यसको प्रभाव जनतामा धेरै थियो भन्ने छ । समाजमा कस्ता कस्ता व्यक्तिहरु छन् भन्ने कुरा उपन्यास, कथा, कविताले पुष्टि गर्दथ्यो । पछिल्लो चरण ०६२–६३ को जनआन्दोलनमा हामीले प्रत्यक्ष सहभागिता जनाएर कलाकर्मीको महत्त्व र सान्दर्भिकता पुष्टि गरिसकेका छौँ ।
जसको फलस्वरुप २०६२ साल फागुन २७ गते सांस्कृतिक संघका रुपमा समिति गठन गरेर हामी अगाडि बढेका हौँ । फागुनमा समिति बनायौँ र जेठको ११ गते कांग्रेसले शुभेच्छुक संस्थाको रुपमा मान्यता दिएको हो । त्यसपछि हामी निरन्तर क्रियाशील रहेर विभिन्न रुपमा सक्रियता बढाएका हौँ । गिरिजाप्रसाद कोइराला हुँदै तत्कालीन ७५ जिल्लामध्ये ६३ जिल्ला गठन गरेर ०६६ सालमा पहिलो अधिवेशन गरेका थियौँ । ०७३ सालमा दोस्रो अधिवेशन गर्दा पनि ७५ जिल्ला नै गठन भइसकेको थियो । महासंघ अहिले पनि ७७ नै जिल्ला गठन भइसकेको छ । सम्मान, सुरक्षा र पहिचानको कुरा महत्त्वपूर्ण हुने रहेछ । तर, आजका दिनमा सांस्कृतिक महासंघमा लागेर आफ्नो क्षेत्रको पहिचान नहुने र व्यवसायको ग्यारेन्टी नहुने अवस्था देखिएको छ ।
अनेक छन् प्रश्न
महासंघप्रति कलाकारहरुको आकर्षण बढाउने कुरामा निकै सकस भइरहेको छ । कलाकार वा स्रष्टाहरुको आकर्षण कम छ । मलाई नै धेरैले प्रश्न गरिरहेका छन्–१९ बर्षसम्म लागेर तैले के पाइस् भनिरहेका छन् । न पार्टीमा भूमिका, न नियुक्ति, न माननीयको टिकट दिलाउन सकिस भन्ने अनेक प्रश्नहरु छन् । आफ्नो पेशा गरिरहेका छौँ, खाइरहेका छौँ महासंघमा किन लाग्नु भन्ने खालको भावना कलाकारहरुमा छ । सायद त्यो प्रभाव कांग्रेसले दिन सकेको छैन । यसमा हाम्रो संस्थाको पनि पनि कमजोरी हुन सक्छ । पार्टीले दिएन भनिरहँदा हामीले के गर्यौँ भन्ने प्रश्नहरु होलान् । संगठित हुन नसक्दा कमजोर भएको, सामूहिक आवाज उठाउन नसकिएको होला भन्ने लागिरहेको छ ।
०६२।०६३ मा एउटा भावना थियो । ०६४ सालको चुनावमा पाँचवटा समूह बनाएर हिँडेका थियौँ । चुनावी परिणाममा काङ्ग्रेस कमजोर भयो । त्यसपछि संगठन बनाउन हिँड्यौँ । त्यो बेला र अहिलेको चालमा धेरै फरक छ । त्यो बेला आकर्षण र विश्वास थियो । केही हुन्छ कि भन्ने थियो । माधव कुमार नेपाल प्रधानमन्त्री भएका बेला गिरिजाबाबुले नै के छ पेशा भनेर सोध्नुभएको थियो । केही छैन भनेर भन्दा अनि घर व्यवहार कसरी चलाउनुहुन्छ भन्नेर प्रतिप्रश्न गर्नुभएको थियो । त्यसबेला खुबै सोधिखोजी हुन्थ्यो । संस्थाप्रति गरेको मेहनतका बारेमा नेताहरुलाई चासो हुन्थ्यो । त्यसैबेला मलाई गिरिजाबाबुले एकेडेमीमा जिम्मेवारी दिनुभएको थियो । सोही मौकामा दिनरात नभनी काम गरेर संगठन बनाएका थियौँ । ७५ जिल्लामा नै संगठन बनाएका थियौं । संगठन बनाउने सिलसिलामा उहाँले नै प्रत्यक्ष संलग्नता देखाउनुहुन्थ्यो । त्यसैले त्यसबेला कलाकर्मी वा महासंघप्रति पार्टीको चासो र चिन्ता थियो । तर, हिजोआज हामी उपेक्षित भएका छौँ । उबेलाको अवस्था अहिले छैन । सायद यसमा म आफैँ पनि दोषी छु ।
नेता बोल्नै चाहँदैनन्
संस्कृतिको विषयमा वा हाम्रो सांस्कृतिक महासंघका सन्दर्भमा हाम्रा नेताहरु बोल्नै चाहँदैनन् । पार्टीका १६५ जना नेताहरुले केन्द्रीय समितिमा संस्कृतिको बारेमा कुनै कुरा राखेका छैनन् । यसको संरक्षण गर्नुपर्छ भन्ने धारणा व्यक्त गरेकै छैनन् । महासंघको संस्थागत प्रतिनिधित्व चाहिन्छ, यो पक्षलाई पनि समावेश गर्नुपर्छ भन्ने चेत नेताहरुमा छैन । गुटका बारेमा बोल्ने तर संस्थाका बारेमा नबोल्ने परिपाटीको विकास भएको छ । त्यसको शिकार महासंघ भइरहेको छ ।
हुनतः १९ वर्षको समयमा नेपाली काङ्ग्रेसले अध्यक्षका रुपमा मलाई सम्झने गरेको त छ तर त्यो आशन ग्रहणका लागि मात्रै हो । तर, महासंघमा रहेका सयौं साथीहरुलाई स्थान दिने वा अवसर दिने कुरामा पार्टीले सम्झेको छैन । यति हुँदाहुँदै पनि हामी आत्तिहालेका छैनौँ, विश्वास दिलाउने प्रयासमा छौँ ।
अध्यक्ष भएका नाताले म हाल सबै जिल्लाको भ्रमणमा हिँड्नुको कारण ७७ जिल्लाबाट कांग्रेसको आगामी महाधिवेशनमा प्रत्येक निर्वाचन क्षेत्रबाट एकजना सांस्कृतिक महासंघकै नेतालाई महाधिवेशन प्रतिनिधिका रुपमा ल्याउने प्रयासका लागि हो ।
१६५ जना महासंघका तर्फबाट अधिवेशन प्रतिनिधि ल्याउनसके केन्द्र र प्रदेशमा हाम्रो प्रतिनिधित्व हुनेमा हामी विश्वस्त छौँ । किनकी १९ वर्षमा मैले जति गुमाए त्यो अरु मान्छेले सहनै सक्दैन । आत्महत्या गर्नेसम्म पुग्छ । वास्तविक पीडा मैले भोगेको छु । महासंघका अन्य अभियन्ताहरुलाई यस्तो अवस्था आउन नदिने मेरो प्रण हो । आफ्ना छोराछोरीभन्दा पनि धेरै माया संस्थाको लाग्छ । तर, साथीहरुलाई विश्वास दिलाउन मलाई आफ्ठयारो भइरहेको छ ।
म नेतृत्व हस्तान्तरण गर्ने पक्षमा छु । नेतृत्व गर्नसक्ने व्यक्तिहरु उत्पादन पनि भइसकेका छन् । थकाई लागेपनि म निरन्तर महासंघको शाखलाई जोगाऔँ भन्नेमा छु ।
उपेक्षा अस्वीकार्य
जोकोहीले सांस्कृतिक क्षेत्रलाई उपेक्षा, अपमान र समावेशीताको सिद्धान्त बाहिर राखेर काम गर्न हुँदैन । राजनीतिक क्षेत्रबाट वा राज्यबाट भइरहेको उपेक्षा गलत छ । संस्कृति भनेको बोलीचाली, रितिरिवाज, परम्परा, गीत–संगीत रचना र विभिन्न धर्मसँग सम्बन्धित विषयवस्तु नै संस्कृति हो । त्यसलाई उपेक्षा गरेर राज्य सम्पन्न हुन सक्दैन । संसारका कुनैपनि देशमा रहेको संस्कृतिमा लगानी हुन्छ त्यहाँ संस्कृतिको सम्मान र सुरक्षा भएको पाएका छौँ । त्यो भनेको देशको सम्मान हो ।
संस्कृति क्षेत्रको गरिमा रहेन भने राज्य सक्षम भएको ठहरिँदैन । कांग्रेस मात्र नभइ अन्य दलहरुले यो क्षेत्रलाई महत्त्व दिनुपर्छ । धार्मिक पर्यटन बढाउन यसले धेरै ठुलो भूमिका निर्वाह गर्छ । त्यसैले राज्यले सांस्कृतिक क्षेत्रलाई उपेक्षा गरेर अगाडि बढ्न सक्दैन ।
(चलचित्र निर्देशक एवम् नेपाल सांस्कृतिक महासंघका केन्द्रीय अध्यक्ष तीर्थ बहादुर थापासँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)