रौतहट, ५ वैशाख । कपिलवस्तुको शुद्धोधन गाउँपालिकाका अध्यक्ष कमलेशशरण चौधरीमाथि गोली प्रहार भएको छ । मायादेवी गाउँपालिका वडा नम्बर १ पकडीस्थित उहाँको निवासमा नै गोली प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता डिएसपी मोहनमणि अधिकारीले गाउँपालिकाका अध्यक्ष चौधरीमाथि गोली प्रहार भएको पुष्टी गर्नुभएको छ । उहाँका अनुसार पालिका अध्यक्ष चौधरीलाई लक्षित गरी प्रहार भएको गोली भित्तामा लागेको हो ।
गाउँपालिकाका अध्यक्ष चौधरीमाथि बिहीबार रातको करिब ११ः३० बजेको समयमा गोली प्रहार भएको डिएसपी अधिकारीले जानकारी दिनुभयो । प्रहरीले घटनास्थलबाट एक थान गोलीको खोका बरामद गरेको छ ।
राति विद्युत् गएको समयमा चौधरी शौचालय गएर फर्कने क्रममा आफू माथि गोली प्रहारको घटना भएको जानकारी प्रहरीलाइ दिएको स्पष्ट पार्दै यस घटनाको बारेमा आवश्यक अनुसन्धान भैइरहेको जिल्ला प्रहरी कार्यलय कपिलवस्तुले जनाएको छ ।-नेपाल न्यूज बैंक