काठमाडौँ, ४ वैशाख । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले ‘देश खत्तम छ’भन्ने किसिमको विचारको विकास राजनीतिज्ञहरुबाटै भएको बताउनुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित ‘सात प्रदेशको चित्र, एउटै क्यानभासभित्र’ जहाँ हर पालिकाले सुनाउँछ आफ्नै कथा…’पुस्तक लोकार्पण समारोह तथा सम्मान कार्यक्रममा उहाँले देशमा जहिले पनि असहज परिस्थिति बनाई राख्ने, जहिले पनि देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको भन्दै यसमा राजनीति गर्ने मान्छेहरुको नै दोष रहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘हाम्रो देशमा किन संघर्ष नै संघर्ष हुन्छ, कहिले सडक आन्दोलन, कहिले धर्ना, किन हामी यसमा समय खर्च गरिरहेका छौँ । किन हामी सकरात्मक काममा समय खर्च गर्दैनौँ । यो एउटा ठुलो प्रश्न छ । हामी राजनीति गर्ने मान्छेहरु नै यसको दोषी हौँ कि जस्तो लाग्छ । जहिले पनि असहज परिस्थिति बनाइराख्ने, देश खत्तम छ भन्ने किसिमको विचारको विकास गरिएको छ । यसमा राजनीति गर्ने मान्छेहरुको नै दोष हो कि भन्ने जस्तो लाग्छ ।’
यस्तै, उहाँले देशमा केही पनि भएको छैन, देश खत्तम भयो भन्ने खालको भाष्य निर्माण गर्न खोजिएको भन्दै यसका पछि नलाग्न सबैलाई आग्रह गर्नुभयो ।
यसका साथै किताबमा छोटो रुपमा एकदमै चासोलाग्ने विषयहरु रहेको भन्दै लेखकले अहिलेको पुस्तालाई लक्षित गरेर एक एक पेजको बुझ्ने भाषामा किताब लेखेको बताउनुभयो ।