मकवानपुरमा यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना घाइते

9

बागमती, ४ वैशाख । पूर्व-पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको मनहरी गाउँपालिका–६ सुनाचुरीस्थित सडकखण्डमा आज बिहान यात्रुवाहक बस दुर्घटना हुँदा १६ जना यात्रु घाइते भएका छन् ।

इटहरीबाट भैरहवातर्फ जाँदै गरेको लु२ख ५९९ नम्बरको बस सडकबाट करिब १० मिटर तल खस्दा बसमा सवार १६ जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

घाइतेहरुको उद्धार गरी उपचारका लागि चितवन अस्पतालतर्फ पठाइएको उक्त कार्यालयका प्रवक्ता श्यामु अर्यालले जानकारी दिनुभयो ।

बस चालक बाराको कोल्बी नगरपालिका–११ निवासी २९ वर्षीय राकेश चौधरीलाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यसैबीच, कुलेखानी–भीमफेदी–काठमाडौँ सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ निबुवाटारमा गुडिरहेको भारतमा दर्ता भएको गाडीमा आगलागी भएको छ ।

काठमाडौँबाट हेटौँडातर्फ जाँदै गरेको जिज १२ डिए ९६१८ नम्बरको कारमा आगलागी भएको र त्यसबाट गाडी पूर्ण रुपमा जलेको उहाँले बताउनुभयो । आगलागीबाट मानवीय क्षति भएको छैन ।

Share This:
सम्बन्धित खबर
Loading...