जनकपुर, ३ वैशाख । ढल्केवर सडक खण्डअन्तर्गत मिथिला नगरपालिका–२ र ६ को सीमामा पर्ने बसही खोलामा अधुरो पुल निर्माणको माग गर्दै स्थानीयवासीले चक्काजाम गरेका छन् ।
बुधबार चक्काजाम गर्दै उनीहरूले सरकार र निर्माण व्यवसायीप्रति आक्रोश व्यक्त गरेका छन् । राजु कन्ट्रक्सन कम्पनीले लामो समयदेखि पुल निर्माणको जिम्मा लिएर बेवास्ता गर्दै आएको स्थानीयवासीको आरोप छ । लामो समयदेखि पुल निर्माण अधुरो रहेका कारण दर्जनौँ मानिस दुर्घटनामा परेर ज्यान गुमाइसकेका छन् ।
मिथिला नगरपालिका–६ का वडाध्यक्ष नन्दकिशोर यादवले पुल निर्माणका नाममा भइरहेको लापरबाही जनताको जीवनसँग खेलवाड भएको टिप्पणी गर्दै भन्नुभयो, ‘हामीले धेरै सह्यौँ, अब धैर्यको सीमा नाघेको छ । यदि तत्काल निर्माण सुरु भएन भने जनस्तरबाट संघर्ष चर्किनेछ ।’
उहाँका अनुसार आजै प्रमुख जिल्ला अधिकारीसँग छलफल हुँदै छ । वार्ता सकारात्मक नभए आमसभा, धर्ना, मसाल जुलुसजस्ता आन्दोलनका कार्यक्रम घोषणा गरिने चेतावनी पनि उहाँले दिनुभयो ।
पुल नहुँदा साना सवारीसाधन खोलाको पेटीबाट जोखिम मोलेर ओहोरदोहोर गर्न बाध्य छन् । चक्काजाममा स्थानीय जनप्रतिनिधि, सर्वसाधारण, युवा र विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो ।