काठमाडौँ, ३ वैशाख । आइसिसी यू–१९ पुरुष क्रिकेट विश्वकप एसिया छनोटअन्तर्गत नेपालले तेस्रो जित निकालेको छ । आजको खेलमा नेपालले हङ्कङलाई ९ विकेटले हराउँदै जारी प्रतियोगितामा तेस्रो जित निकालेको हो ।
हङकङले जितका लागि दिएको ११६ रनको लक्ष्य नेपालले १२ दशमलव तीन ओभरमा एक विकेट गुमाउँदै पूरा गरेको हो । नेपालका लागि साहिल पटेलले अविजित ४२ रन बनाउँदा कप्तान नरेन भट्ट पनि अविजित रहँदै ३९ रन जोडे । नेपालका लागि निरज यादवले २३ रनको योगदान दिए । नेपालले अतिरिक्त नौ रन प्राप्त गरेको छ ।
हङकङका लागि शयन पुरीले एक विकेट हात पारे । तल्लो मूलपानी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको हङकङले ४६ दशमलव दुई ओभरमा अलआउट हुँदै एक सय १५ रन बनाएको हो ।
हङकङका लागि शिव माथुरले अर्धशतकीय पारी खेले । उनले ११६ बलमा चार चौका र एक छक्काको मद्दतले सर्वाधिक ६३ रन बनाएका हुन् । यस्तै, आर्या पन्जवानीले १३, वीर माथुरले १२ र ह्यारी थोमस हजसनले १० रनको योगदान दिँदा अन्य कुनै खेलाडीले दोहोरो अङ्कको रन बनाउन सकेनन् ।
नेपालका लागि युवराज खत्रीले सर्वाधिक चार विकेट लिए । विपिनप्रसाद शर्माले तीन, सन्तोष यादवले दुई र अशोक धामीले एक विकेट हात पारेका हुन् ।