कांग्रेस सत्तामा भए पनि सरकारलाई खबरदारी गर्न छाडिन्न : डा.कोइराला

10

काठमाडौँ, ३० चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले कांग्रेस सत्तामा भए पनि सरकारमा नभएको बताउनुभएको छ ।

शनिबार बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको साधारण सभालाई सम्बोधन गर्दै कोइरालाले सरकारले जनताको चाहना बुझ्न नसकेको र असल सुशासन दिन चुकिरहेकाले एमाले भोलिको प्रतिस्पर्धी पार्टी भएकाले खबरदारी गर्न नछाड्ने बताउनुभयो ।

‘राजनीतिमा धेरै कुरा हुन्छ । हालको सरकारका सवालमा पनि धेरै कुराहरु छन् । अहिलेको सरकार नेपाली कांग्रेस सम्मिलित सरकार हो र यसमा हामी पनि छौँ । तर, मैले एउटा कुरा भन्दै आइरहेको छु– हामी सत्तामा छौँ तर सरकारमा छैनौँ किनभने हाम्रो प्रतिस्पर्धी जुनसुकै ठाउँमा एमाले हुन्छ । हामी अहिले एमालेसँग सहकार्य गरेर अगाडि बढिरहेका छौँ । यसलाई म खराब भन्दिनँ । तर, सरकारले गलत वा कमजोरी गरिरहेको छ की भनेर खबरदारी गरिराख्नुपर्छ भन्ने हो । खबरदारी गरेनौंं भने कांग्रेसलाई अफ्ठ्यारोमा पर्नसक्छ । त्यसैले हामी सत्तामा छौँ तर सरकारमा छैनौँ । सरकारमा हुनेहरुले सहकार्य गरेरै जानुपर्ने आवश्यकता छ, अर्को उपाय छैन,’ उहाँले अगाडि भन्नुभयो,‘सरकारले संविधान पुनरावलोकन, संशोधन गर्ने कुरा गरेको छ । त्यसैले यसमा ढिला गर्न मिल्दैन । जति ढिलाइ हुन्छ, त्यति सडक आक्रोशित हुन्छ । सुशासन दिलाउन सकिएको छैन, दण्डहिनता बढेको बढ्यै छ । यसलाई कन्ट्रोल गर्न जरुरी छ ।’

साथै उहाँले संविधान संशोधन गर्ने भन्ने कुरा सेलाएको बताउनुभयो । कोइरालाले अहिले सडकमा उठिरहेका धेरै माग संविधान संशोधनबाट पूरा गर्न सकिने बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...