कास्की, ३० चैत । पोखरामा जारी दोस्रो संस्करणको ‘केपी ओली कप’ टी–२० राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताअन्तर्गत शुक्रबार भएको पहिलो खेलमा डिफेन्डिङ च्याम्पियन मधेस प्रदेश कर्णाली एकेडेमीसँग पराजित भएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा जारी प्रतियोगिताको सातौँ दिन समूह ‘सी’तर्फको पहिलो खेलमा कर्णाली एकेडेमीले मधेस प्रदेशलाई १५ रनले हराएको हो ।
प्रतिकूल मौसमका कारण ओभर घटाएर १७ मा झारिएको थियो । जितका लागि १४६ रनको लक्ष्य पछ्याएको मधेस प्रदेश कुल १७ ओभरमा छ विकेट गुमाउँदै १३० रनमा समेटियो ।
मधेसका लागि दिपेश दासले सर्वाधिक ४५ रनको योगदान दिए पनि जित दिलाउन सकेनन् । अभिषेक कार्की २२ रनमा अविजित रहे । कर्णालीका लागि सुवास भण्डारी र दीपेन्द्र यादवले समान दुई–दुई, कृष्ण कार्कीले एक र अरुण ऐरिले एक विकेट लिए ।
टस जितेर ब्याटिङ थालेको कर्णाली एकेडेमीले १७ ओभरमा १४५ रन बनाउँदै अलआउट हुन पुगेको थियो । कर्णालीका लागि हिमांशु शाहीले सर्वाधिक ३८ रनको योगदान दिए । यसैगरी राजप्रसाद शाहले १६ रन बनाए । मधेसका लागि रुपेश सिंहले चार ओभरमा २५ रन खर्चेर सर्वाधिक चार विकेट लिए । अभिषेक कार्कीले तीन तथा विशाल पटेलले दुई विकेट लिए ।
यसैगरी मौसमकै कारण दोस्रो खेल रोकिँदा हिमाल फ्रेन्ड्स क्रिकेट क्लबले लुम्बिनी खुकुरी क्रिकेटलाई डकवर्थ–लुइस नियम (डिएल) मेथड अनुसार १३ रनले हराएको छ । वर्षाको कारण खेल हुन नसकेपछि डिएल मेथडबाट हिमाल फ्रेन्ड्सले जित हासिल गरेको हो ।
त्यसअघि टस जितेर ब्याटिङ गरेको हिमाल फ्रेन्ड्सले ११ ओभरमा पाँच विकेट गुमाउँदै १०६ रन बनाएको थियो । ओपनर सुवोध ऐरी ४० रन बनाउँदै बाहिरिए । अभिनाष सिंह ५१ रनको अर्धशतकीय उत्कृष्ट पारी खेल्दै आउट भए । मौसमका कारण ओभर घटाइएको खेलमा जितका लागि १२१ रनको नयाँ लक्ष्य पाएको लुम्बिनीले ११ ओभरमा आठ विकेट गुमाएर १०७ रनमात्र बनाउन सक्यो ।
लुम्बिनीका लागि रञ्जित चौधरी सर्वाधिक ३६ रनको अविजित पारी खेले । हिमालय फ्रेन्ड्सका लागि सुशील रावल, मनसुन सिंह र अभिनाष बस्यालले समान दुई–दुई विकेट लिँदा दीपक रोकायाले एक विकेट लिएका थिए ।
यही चैत २३ गतेदेखि सुरु प्रतियोगताको विजेताले नगद १० लाख र उपविजेताले नगद पाँच लाखका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी ‘म्यान अफ दी सिरिज’ले नगद ३० हजार, वेष्ट बलर, बेष्ट ब्याटरले जनही नगद १० हजारका साथमा ट्रफी प्राप्त गर्ने आयोजकले जनाएको छ ।