प्रतिवदेन दराज सजाउनका लागि आयोग गठन भएको होइन : अर्थमन्त्री पौडेल

12

काठमाडौँ, २९ चैत । उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगले सुझाइएका विषयमा कार्यान्वयन गर्न योजना बनाउने बताउनुभएको छ ।

शुक्रबार उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगको प्रतिवेदन हस्तान्तरण कार्यक्रममा बोल्दै उहाँले विगतमा आयोगको प्रतिवेदन दराज सजाउनको निम्ति प्रयोग हुने भन्दै यस पटक भने सुझाव कार्यान्वयनका निम्ति सरकारले काम गर्ने बताउनुभयो ।

‘यो समग्र प्रतिवेदनलाई गहिरो रुपमा अध्ययन गर्ने छौँ । आयोगको प्रतिवेदनमा सुझाइएका विषयमा कार्यान्वयन गर्न योजना बनाउने छौँ । म यो विश्वास दिलाउन चाहन्छु,’ उहाँले भन्नुभयो ।

उहाँले थप अगाडि भन्नुभयो,‘विगतमा आयोगको प्रतिवेदन दराज सजाउनका निम्ति प्रयोग हुने अनुभव छ । यस पटक दराज सजाउनको निम्ति आयोग गठन गरेको थिएन । आयोगका सुझाव कार्यान्वयनका निम्ति थिए भन्ने स्थापित गर्न सरकारको अभ्यास रहनेछ ।’

उहाँले आयोगको सुधारका कामहरु निरन्तर अगाडि बढाइरहनुपर्ने ढृष्टिकोणमा सहमति भएको पनि बताउनुभयो ।

यस्तै, उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोगका अध्यक्ष रामेश्वर खनालले समग्र माग पक्ष कमजोर भए पनि अर्थतन्त्रका तत्कालका समस्या समाधान गर्न माग–पक्षीय नीतिहरू मात्र पर्याप्त नभएको आयोगको निष्कर्ष रहेको बताउनुभयो ।

‘कर्जा वृद्धि कम हुनु, घरजग्गाको कारोबारमा ह्रास आउनु, सहकारी वित्तीय प्रणालीमा लाखौँ मानिसको बचत फस्नु, सरकारले गर्नुपर्ने कतिपय भुक्तानी समयमा नगर्नु, व्यापारिक उधारो असुलीमा समस्या आउनु र निर्माण क्षेत्र संकटग्रस्त बन्न गएकाले उपभोग र लगानीमा ह्रास आएको देखिन्छ,’ उहाँले भन्नुभयो ।

संरचनात्मक अवरोधलाई कम गर्दै आर्थिक अवसर सिर्जना गर्ने प्रोत्साहन गर्ने र अवसरमा सबैको पहुँच पुर्‍याउने दिशामा सरकारका नीति र कार्यक्रमहरू लक्षित हुनुपर्ने पनि उहाँले बताउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...