अघिल्लो सरकारको कार्यशैलीका कारण मुलुक ‘ग्रे लिष्ट’मा पर्‍यो : अर्थमन्त्री पौडेल

20

काठमाडौँ, २८ चैत । अर्थमन्त्री विष्णु पौडेलले निवर्तमान सरकारको काम कारबाहीले गर्दा मुलुक ‘ग्रे लिष्ट’मा परेको बताउनुभएको छ ।

बिहीबार विकास, आर्थिक मामिला तथा सुशासन समिति चालु आव. ०८१/८२ को बजेटको खर्चको स्थिति र अगामी आव. ०८२/८३ को बजेटको तयारीसम्बन्धी छलफलमा उहाँले पहिलाको सरकारले प्रतिबद्धता गरे अनुसार काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पुगेको बताउनुभयो । उहाँले ग्रे लिष्टबाट बाहिर ल्याउन कार्यतालिका बनाएर अगाडि बढेको बताउनुभयो ।

उहाँले भन्नुभयो, औपचारिक रुपमा ग्रे लिष्टमा लिष्टिङ भएका छौँ । पहिलाका काम कारबाहीले गर्दा ग्रे लिष्टमा पर्ने अवस्था बनेको हो । यो सरकार बनेपछि भएका कामहरुका कारणले मुलुक ग्रे लिष्टमा गएको होइन । अगाडिको समयमा जे काम गर्नुपर्ने थियो, जे काम गर्छौँ भनेर प्रतिबद्धता गरेका थियौँ त्यो काम गर्न नसक्दा मुलुक ग्रे लिष्टमा पुगेको हो । ग्रे लिष्टबाट बाहिर आउने सन्दर्भमा एउटा कार्यतालिका बनाएका छौँ । सोही हिसाबले कामहरु पनि अगाडि बढाउने तयारीमा छौँ । समयावधीभन्दा पहिलै ग्रे लिष्टबाट बाहिर निस्किने आशा छ ।’

यसको साथै उहाँले खर्चको व्यवस्थापनको सन्दर्भमा कानुनी व्यवस्था अध्यावधि गर्नुपर्ने आवश्यकता रहेको भन्दै यसले विनियोजना कौशलको पनि पुँजीगत खर्च न्यून हुनुमा भूमिका खेलेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘चालु आर्थिक वर्षमा राजस्व परिचालनको लक्ष्य ३३ प्रतिशतको लक्ष्य थियो । खर्चको व्यवस्थापनको सन्दर्भमा केही समस्याहरु छन् । सार्वजनिक खरिद ऐन, नियमावली अध्यावधिक गर्नुपर्ने कारणले गुणस्तर र निश्चित लागतमा आयोजनाहरु समयमा सम्पन्न हुन सकेको छैन । यी समस्याहरु समाधान गर्ने हिसाबले कानूनी व्यवस्था अध्यावधि गर्नुपर्ने आवश्यकता छ ।’

समितिमा बजेटको सिद्धान्त र प्राथमिकता बारे उठेको प्रश्नलाई सम्बोधन गर्दै उहाँले सबैभन्दा पहिला सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेपछि त्यहीँअनुसार सिद्धान्त, प्राथमिकता र मिल्नेगरि बजेट निर्माण गर्ने बताउनुभयो ।

सुशासन विना विकास र समृद्धि छैन भन्ने सोचको साथमा सरकार सबै काम कारबाहीहरुलाई सुशासनमा केन्द्रित गरेर अगाडि बढेको पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...