भोजपुर, २७ चैत । मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगिताको उपाधिका लागि गण्डकी र कोशी प्रदेशबीच भिडन्त हुने भएको छ ।
भोजपुर नगरपालिका–७, कोदार रङ्गशालामा जारी प्रतियोगिताको आज भएको सेमिफाइनल खेलबाट गण्डकी र कोशी प्रदेश फाइनलमा प्रवेश गरेका हुन् । पहिलो सेमिफाइनल खेलमा बागमती प्रदेशलाई ३–० सेटले पराजित गर्दै गण्डकी प्रदेश फाइनल प्रवेश गरेको थियो । खेलको पहिलो, दोस्रो र तेस्रोे सेट लगातार २५–२१, २५–१९ र २५–१५ अङ्कले गण्डकी प्रदेशले बागमतीलाई पराजित गरेको थियो ।
आजै भएको दोस्रो सेमिफाइल खेलमा सुदूरपश्चिम प्रदेशलाई ३–२ को सेटमा पराजित गर्दै कोशी प्रदेशले फाइनल यात्रा तय गरेको हो । कोशीले पहिलो, तेस्रो र पाँचौँ सेटमा २५–२१, ३०–२८ र १५–७ ले सुदूरपश्चिमलाई पराजित गरेको हो । दोस्रो र चौथो सेट भने २५–२२ र २५–२३ ले सुदूरपश्चिम प्रदेशले जितेको थियो ।
बिहीबार फाइनल खेल हुने छ भने तेस्रो र चौथोका लागि बागमती र सुदूरपश्चिमबीच प्रतिस्पर्धा हुने आयोजक जिल्ला भलिबल संघले जनाएको छ ।
प्रतियोगिताका लागि कोशी प्रदेश खेलकुद विकास बोर्डले २० लाख सहयोग गरेको छ । जिल्लाका नौ वटा स्थानीय तहमध्ये आठ स्थानीय तहले प्रतियोगिता सञ्चालन गर्न नौ लाख बढी सहयोग गरेका छन् । व्यक्ति तथा सङ्घसंस्थालेसमेत सहयोग गरेको आयोजकले जनाएको छ । प्रतियोगितमा मधेस र कर्णालीबाहेक कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम पाँच प्रदेशका खेलाडीले सहभागिता जनाएका थिए ।
प्रतियोगिताको विजेता तथा उपविजेताले क्रमशः नगद तीन लाख, एक लाख ७५ हजारका साथमा ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् । त्यसैगरी तेस्रो हुनेले ८० हजार तथा चौथो हुने टोलीले रु ४० हजारसहित मेडल र प्रमाणपत्र पाउने आयोजक जिल्ला भलिबल सङ्घका अध्यक्ष विन्द्रकुमार तामाङले जानकारी दिनुभयो ।
पाँच विधामा विधागत रुपमा उत्कृष्टलाई नगद १० हजारका साथमा भोजपुरे खुकुरी प्रदान गरिने र सर्वोत्कृष्ट खेलाडीलाई नगद २५ हजार पुरस्कार प्रदान गरिने जनाइएको छ ।