मोरङ, २६ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा राजतन्त्र औचित्य समाप्त भएको बताउनुभएको छ ।
विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले औचित्यहीन राजतन्त्र पुनःस्थापना नहुने बताउनुभयो । “औचित्य समाप्त भएको राजतन्त्र फेरि फर्काउने दिवास्वप्नबाट मुक्त हुनुपर्छ”, पूर्वराजा ज्ञानेन्द्रको सहमतिमा नै सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था लागु भएको स्पष्ट गर्दै उहाँले भन्नुभयो ।
फरक प्रसङ्गमा नेता नेपालले संविधान संशोधन आवश्यक भएको बताउनुभयो । साथै उहाँले नेकपा (एमाले)सँग तत्काल एकताको सम्भावना नरहेको स्पष्ट गर्नुभयो ।