दुग्ध व्यवसायमा तत्काल राज्यले गर्नुपर्ने सम्बोधन

9
  • गंगा सुवेदी

दुग्ध उत्पादन कृषि अर्थतन्त्रको महत्वपूर्ण हिस्सा हो । नेपालको कुल कृषि ग्राहस्थ उत्पादनमा कृषि क्षेत्रको योगदान २८ प्रतिशत छ । लाखौँ किसानहरु दुग्ध व्यवसायमा संलग्न छन भने हजारौँले रोजगार पाएका छन् । कृषि उत्पादनको रुपमा नेपालमा हाल करिब ५५ लाख ६६ हजार ६१४ मेट्रिक टन (कृषि तथा पशुपन्क्षी डायरी, २०८०) दुध उत्पादन हुने र त्यसको ठुलो अंश औपचारिक क्षेत्रमा नआइ अनौपचारिक रुपमै खपत हुने गरेको अनुमान छ ।

कृषिको योगदानमा दुध क्षेत्रको मात्रै करिब ९ देखि १० प्रतिशतसम्म योगदान रहँदै आएको तथ्य प्राप्त गर्न सकिन्छ । डेरी उद्योगमा मात्र करिब ३५ देखि ४० हजारसम्म प्रत्यक्ष रोजगारी रहेको र दुग्ध उत्पादन किसान र उनीहरुका फर्ममा करिब ५ देखि ७ लाख रोजगार रहेको अनुमान छ । अनौपचारिक रोजगारीमा समेत यस क्षेत्रले धेरै योगदान गरेको पाइन्छ ।

थाक्रे गाउँपालिका वडा नम्बर ९ का गणेशमान डंगोल र वडा नम्बर ८ का राजन लामिछानेले लामो समयदेखि दुग्ध व्यवसाय गर्दै आएका छन् । थाक्रे गाउँपालिकामा यस व्यवसायमा संलग्न अन्य किसानहरु पनि छन् । एउटा डेरीले करिब ५०÷६० जनालाई रोजगारी दिएको छ । उनीहरुको नियमित आम्दानीको स्रोत बनाइदिएको छ । डेरीहरुले दुध प्रशोधन गरी पनिर उत्पादन गरिरहेका छन् । पाँच छ वटा डेरीबाट लगभग ४०० देखि ५०० किसानहरु लाभान्वित छन् ।

किसानहरुको दुध बिक्री गर्ने केन्द्रको रुपमा यी डेरीहरु स्थापित भएका छन् । निकै मेहनतका साथ दुध प्रशोधन गरी पनिर बनाउछन र स्थानीय बजार काठमाडौँमा सप्लाई गर्छन् । उनीहरुको व्यवसायमा आधुनिक प्रविधिहरुलाई जोड दिन सकियो भने थोरै लागतमा उत्पादन गर्न सक्छन र बजारसंग प्रतिस्पर्धा गर्न सक्छन् । दुध तताउन दाउराको प्रयोग गरिरहेका छन् यसको बदलामा दुध तताउने,क्रिम निकाल्ने, फ्याट नाप्ने विद्युतीय मेसिनलगायत प्रशोधनका सामग्रीहरुको सहयोग पाउन सके भने धुँवाबाट बचेर सहज तरिकाबाट दुध प्रशोधन गर्न सक्छन् । तर, उनीहरुको उद्यममा राज्यको आँखा पर्न सकेको छैन । राज्यबाट कुनै किसिमको सहुलियत पाउन सकेका छैनन् ।

थाक्रे गाउँपालिका वडा नम्बर ८ का राजन लामिछानेले विगत सात वर्षदेखि लामिछाने गाई तथा दुध डेरी संस्था स्थापना गरी दुग्ध व्यवसाय गर्दै आउनुभएको छ । राजनले १३ वटा गाई र भैँसी पाल्नुभएको छ । पशु बिमा आफैँले गर्नुभएको छ । संकलन भएको दुध बिक्री नगरी सबै दुधको पनिर बनाएर बिक्री गर्नुहुन्छ । अहिले प्रतिकेजी ६०० का दरले पनिर विक्री गरिरहनुभएको छ । राजनले कही कतैबाट सहयोग पाउनुभएको छैन । कटिङ मेसिन, दुध तताउने भाडो आवश्यक छ । दुधको फ्याट निकाल्ने मेसिनलाई एकदेखि डेड लाख रुपैयाँ पर्छ । उक्त मेसिन बिग्रदा लाख रुपैयाँ घाटा लाग्ने बताउनुभयो । राज्यले यस्ता मेसिनहरु खरिद गर्न सहयोग गरेमा निकै राहत हुने बताउनुभयो । वडा, पालिकातिर केही सहुलियत व्यवस्था भए, तालिम कार्यक्रमहरु भए सहभागी गराउनुहोला भनी निर्वाचित प्रतिनिधिहरुलाई भनेका छन् तर निर्वाचित प्रतिनिधिहरुले त्यति चासो नलिने गरेको बताउनुभयो । केही सहयोग मिल्छ की भनी पहिला पहिला पालिका, जिल्लातिर गएर धेरै कोसिस गरे तर सहयोग पाउन सकेनन् अहिले कहिकतै जान छाड्दिएको बताउनुभयो । सहयोग गर्ने कोही कुनै निकाय नभएको कारण आफ्नै पौरखले व्यवसाय धान्दै आएको बताउनुभयो । आफ्नो व्यवसायमा केही राहत मिल्यो भने किसानलाई पनि राहत दिन सकिने र गाईवस्तुलाई आवश्यक पर्ने क्याल्सियम लगायतका औषधिहरु पाउन सकियो भने किसानलाई उपलब्ध गराउन सकिने उहाँले बताउनुभयो ।

त्यस्तै, अर्का व्यवसायी थाक्रे गाउँपालिका वडा नम्बर ९ पण्डित पौवाका गणेशमान डंगोलले डंगोल कृषि फर्ममार्फत् विगत चार वर्षदेखि सुवर्ण दुध डेरी सञ्चालन गर्दै आउनुभएको छ । उहाँको डेरीमा पौष माघमा दैनिक पाँच छ सय लिटर दुध संकलन हुन्छ भने अहिले तीनचार सय लिटर दुध संकलन गरेर दुध, दही, घिउ पनिर बिक्री गर्दै आएका छन् । उहाँले डिडिसीमा दुध बिक्री गर्दै आउनुभएको छ । तर दुध, पनिरको निश्चित मूल्य नहुँदा, मनोमानी मूल्यमा दुध बिक्री गर्नुपरेको, बिक्री गरेको दुधको रकम पनि ढिला भुक्तानी हुने हुँदा डेरी चलाउन पनी मुश्किल परिरहेको बताउनुभयो । दुध व्यवसायीहरुले सस्तो मूल्यमा बिक्री गर्नुपर्ने विचमा बिचौलियाहरुले फाइदा लिने तर उपभोक्ताहरुले बढी मूल्य तिरेर खरिद गनुपर्ने अवस्था रहेको बताउनुभयो ।
दुध प्रशोधन गर्न, पनिर बनाउन नयाँ नयाँ विद्युतीय प्रविधिहरु आएका छन् ती प्रविधिहरुलाई व्यवसायमा भित्र्याउन सकेका छैनन् । कही कतैबाट सहुलियत मिल्न सकेमा आधुनिक उपकरणमार्फत् सहज तरिकाबाट व्यवसाय अगाडि बढाउन सकिने बताएका छन् । स्थानीय सरकारले प्रत्येक दुध किसानलाई राहत उपलब्ध गराउने भनेता पनि कुरा मात्र गरेको तर कार्यान्वयन नगरेको, दुग्ध व्यवसायप्रति चासो नदेखाएको उहाँले बताउनुभयो ।

थाक्रेका सामाजिक विकासका अभियन्ता गोकर्ण रुपाखेतीका अनुसार ‘स्थानीय प्रविधिद्वारा संकटपूर्ण ढंगबाट दुध प्रशोधन गरिरहेका ती उद्यमीहरुलाई सरकारको तर्फबाट प्रविधिसँग जोड दिने र प्रशोधनका लागि आवश्यक सामग्रीहरुको प्रबन्ध गराउन सके उनीहरुले दुध धेरै संकलन गर्न सक्छन् । छिटो छरितो ढंगबाट प्रशोधन गर्न सक्छन् । बजारसँग प्रतिस्पर्धा गर्न सक्ने र त्यसबाट अझ धेरै किसानहरुले लाभ लिन सक्ने बताउनुभयो । एक जना किसानले दिनमा चारपाच सय देखि हजारसम्म लाभ लिन सकिरहेको अवस्थामा दुग्ध व्यवसायको प्रवर्द्धन र बजारीकरणको लागि राज्यको ध्यान पुग्न पर्ने बताउनुभयो ।

पशु खाद्य महँगो हुँदा गाईभैँसीलाई खुवाउने दाना, भुस, घाँस आदिको मूल्य दिनानुदिन बढिरहेको छ । यसले उत्पादन लागत बढाउँछ । स्वास्थ्य सेवा र प्राविधिक सहयोगको कमीको कारण पशु चिकित्सक, बिमा सुविधा र समयमै उपचार नपाउँदा पशु मर्ने वा बिरामी हुने सम्भावनाबढी हुन्छ । सरकारले दुग्ध व्यवसायलाई त्यति प्राथमिकतामा राखेको देखिँदैन जसले गर्दा अनुदान, बिमा, तालिम आदि पर्याप्त रुपमा पुग्न सकेको छैन । भण्डारण र प्रशोधन सुविधाको अभाव छ । ग्रामिण क्षेत्रमा चिस्यान केन्द्र, प्रशोधन प्लान्ट जस्ता पूर्वाधार निर्माण हुन सकेका छैनन् । यी विविध कारण दुध उत्पादन गर्ने किसानहरुले समस्या भोगिरहेका छन् ।

मानव जीवनका लागि दुध महत्त्वपूर्ण पदार्थ हो । दुधबाट शरीरका लागि आवश्यक पर्ने प्रोटिन, कार्बोहाइड्रेट, फ्याट र मिनरल्स लगायतका तत्वहरु पाइन्छ । दुध शरीरका लागि अत्यन्त लाभदायी पोषक पदार्थ हो । दुग्ध उत्पादन, वितरण र मूल्य स्थिरतामा देखिएका चुनौतीहरु जसलाई राज्यले सम्बोधन गर्न आवश्यक छ । अर्कोतर्फ पशुपालनका कारणले प्राङ्गारीक मल उत्पादन र प्रयोगबाट व्यवसायिक तरकारी खेती, खाद्यन्न उत्पादनमा समेत महत्त्वपूर्ण योगदान पुग्ने भएकोले सरकारले यस्ता उद्यमीहरुलाई प्रोत्साहन गर्नु आवश्यक छ ।

Share This:
सम्बन्धित खबर
Loading...