काठमाडौँ, २४ चैत । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा लामो जनसङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रको विकल्प नरहेको बताउनुभएको छ ।
पार्टी निकट आदिवासी जनजाति महासंघद्वारा आज यहाँ आयोजित कार्यक्रममा उहाँले जनताको अधिकार संरक्षण गर्दै आर्थिक तथा सामाजिक रूपान्तरणका लागि गणतन्त्रात्मक शासन व्यवस्था उत्तम रहेको बताउनुभयो ।
निरङ्कुश शासन व्यवस्था पुनःस्थापनाका लागि प्रतिगामी शक्ति क्रियाशील रहेको भन्दै अध्यक्ष नेपालले जनअधिकार सङ्कुचित बनाउने त्यस्तो राजनीतिक पद्धति कुनै हालतमा स्वीकार्य नहुने धारणा राख्नुभयो ।
पूर्वप्रधानमन्त्री नेपालले जनताका मागलाई जोडेर जनसंघर्षकै माध्यमबाट पार्टी निर्माण, पार्टीको साङ्गठनिक सुदृढीकरणमा जनपरिचालनको महत्त्व तथा अन्तरराष्ट्रिय अभ्यासबारे सम्बोधन गर्नुभयो । उहाँले कार्यदिशा र सिद्धान्तमा एकरुपता नभएसम्म कुनै पार्टीसँग पनि एकताको सम्भावना नरहेको बताउनुभयो ।