नेपाली समाजमा विद्वान र विद्वताको कदर हुन छाड्यो : डा.सुरेन्द्र केसी

8

रामेछाप, २४ चैत । राजनीतिक विश्लेषक डा.सुरेन्द्र केसीले गहन अध्ययन र विश्लेषण नहुँदा समाज अराजक बन्दै गएको बताउनुभएको छ ।

रामेछापमा आइतबार आयोजित नेपालको जनतान्त्रिक आन्दोलनमा कृष्णलाल, गङ्गालाल र पुष्पलालको योगदान विषयक बृहत् विचार गोष्ठीमा बोल्दै डा.केसीले अहिलेको समाज सामाजिक सञ्जालको पछाडि दौडिएको बताउनुभयो । त्यसकै प्रभाव स्वरूप विदेश जाने एक खालको भूत युवा जमातमा चढेको उहाँको विश्लेषण छ ।

केसीले नेपालमा राम्रो रोजगारी भएका मानिसमा समेत विदेश जाने अचम्मको लालसा बढेको बताउनुभयो । युवा पुस्तामा चाहना र आवश्यकता अति महत्त्वकाङ्क्षी भएको कारण विदेशको मोह बढेको उहाँको ठम्याइ छ ।

केसीले नेपाली सम्मानमा विद्वानको र विद्वताको कदर हुन छाडेको गुनासो गर्नुभयो । ‘विद्वान र विद्वताको कदर नै छैन, एउटा पिएचडी गरेको डाक्टरलाई एउटा फुच्चेले के छ खबर भने जिस्क्याउँछ, खिसी गर्छ, अनि कहाँबाट देश बन्छ’, उहाँले भन्नुभयो ।

केसीले अब पुष्पलाल र उनको विचारलाई समेत नयाँ कोणबाट परिभाषित गर्नुपर्ने बताउनुभयो । पुष्पलालका कतिपय दस्ताबेजलाई तोडमोड गरिएका बताउँदै उहाँले त्यसको बारेमा बृहत् खोज, अध्ययन र सार्वजनिकीकरण गर्नुपर्नेमा जोड दिनुभयो ।

विज्ञान र प्रविधिले धेरै कुरा ल्याएको बताउँदै उहाँले त्यसको प्रभाव समाजमा परेको बताउनुभयो । नयाँ प्रविधिको विकास भएसँगै समाज र त्यसलाई हेर्ने दृष्टिकोणसमेत परिवर्तन भएकाले अब परिवर्तित सन्दर्भअनुसार समाज विश्लेषण गर्नुपर्ने उहाँको धारणा छ ।

Share This:
सम्बन्धित खबर
Loading...