देशमा बिचौलियाहरुको बिगबिगी छ, सरकार सुशासन दिनै सक्दैन : डा.कोइराला

8

काठमाडौँ, २४ चैत । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले हरेक ठाउँमा बिचौलियाहरुको बिगबिगी बढेको बताउनुभएको छ ।

आइतबार डा.सुमन कर्माचार्यको ‘कात्रोमा खल्ती’ नामक पुस्तक बिमोचन कार्यक्रममा बोल्नुहुँदै उहाँले देशको राजनीति परिस्थिति एकदमै नाजुक भएको भन्दै हरेक ठाउँमा बिचौलियाहरुको बिगबिगी बढेको बताउनुभयो ।

‘अहिलेको देशको राजनीतिक परिस्थिति एकदमै नाजुक छ । दिनदिनै खराब हुँदै गइरहेको छ । बिचौलियाहरुको बिगबिगी भएको छ । हरेक ठाउँ वा हरेक तप्काका बिचौलियाहरु बिगबिगी छ । तर, यो सरकार निर्माण गर्दा जुन कल्पना गरिएको थियो त्यो हामीले अगाडि बढाउनै सकेनौँ । काम नै भएको छैन ।’

उहाँले देशको अर्थतन्त्रसँग खेल्ने अधिकार कसैलाई नभएको बताउनुभयो । उहाँले राजनीतिक नेतृत्वमा इच्छाशक्ति भए देश बन्ने बताउनुभयो ।

‘देशको अर्थतन्त्रसँग खेल्ने, मजाक गर्ने अधिकार कसैलाई छैन । उहाँहरु (सरकार)ले सुशासन दिन्छौँ, देशमा भ्रष्ट्राचार न्यूनीकरण गर्छौँ भन्नुभयो तर सुशासन कस्तो अवस्थामा छ मैले भनिरहन पर्दैन,’ उहाँले भन्नुभयो । उहाँले पुस्तक ‘कात्रोमा खल्ती’को प्रसंग झिक्दै हाल नेपालमा कात्रोमा खल्ती नै हुन्छ कि जस्तो गरी मानिसहरुले प्रवृत्ति देखाउन थालेको पनि बताउनुभयो ।

फरक प्रसंगमा डा.कोइरालाले केही स्थानमा राजनेता बिपी कोइरालाको शालिकमा मोसो दल्ने काम भएकोप्रति चिन्ता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो,‘पश्चिमतिर बिपीको शालिकमा कालो मोसो दल्ने काम भएछ । त्यो राम्रो संस्कार होइन । मोसो दल्दैमा बिपी कालो हुने पनि हैन । बिपीबाट धेरै कुरा सिक्न जरुरी छ ।’

कार्यक्रममा पुस्तकका लेखक सुमन कर्मचार्यले राजनीति भनेको दर्शन हो तर राजनीति दर्शनअनुसार नचलेकाले आफूले कलम चलाएको बताउनुभयो । उहाँले राजनीतिक खराबीका विरुद्ध कलम चलाइरहने प्रतिवद्धता पनि जनाउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...