आइपियुको दिगो विकास स्थायी समितिमा सांसद डा.शाक्य निर्वाचित

9

काठमाडौँ, २४ चैत । अन्तर–व्यवस्थापिका संघ (आइपियु)को दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा.अञ्जान शाक्य निर्वाचित हुनुभएको छ । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उहाँ विजयी हुनुभएको हो ।

सांसद डा.शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । अन्तरव्यवस्थापिका संघको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर सम्मेलनमा सभामुख देवराज घिमिरेसहितको टोलीले भाग लिइरहनुभएको छ । सभामुख घिमिरेले आइपियुको दिगो विकास स्थायी समितिका ३६ देशका सभामुखलाई पत्र लेख्दै डा.शाक्यको समर्थनका लागि आग्रह गर्नुभएको थियो ।

सांसद डा.शाक्यले दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रको तर्फबाट उम्मेदवारी प्रस्तुत गर्नुभएको थियो । नेपालले पहिलोपटक यो मञ्चमा आफ्नो उपस्थिति जनाएको हो । सांसद डा.शाक्यले आफ्नो जितसँगै यसले नेपालको प्रतिष्ठा अन्तरराष्ट्रिय मञ्चमा पनि बढाउन सहयोग पुर्‍याएको महसुस आफूले गरेको बताउनुभयो । “सभामुखज्यूले पत्र लेखेर नै मेरो समर्थनका लागि आग्रह गर्नुभएको थियो”, उहाँले भन्नुभयो, “मैले पनि व्यक्तिगत रूपमा मेरो समर्थनका लागि आग्रह गरेको थिएँ । हामी सबैको प्रयासले सफलता प्राप्त भयो ।”

उहाँले प्रधानमन्त्री, सभामुख, संसद् सचिवालयको अन्तरराष्ट्रिय महाशाखालगायतलाई पनि धन्यवाद दिनुभयो । सांसद डा.शाक्य राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समिति सदस्य तथा सोही समितिको दिगो विकास उपसमिति संयोजक हुनुहुन्छ । उहाँकै नेतृत्वमा ‘नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा अध्ययन प्रतिवेदन–२०८१’ प्रतिवेदन तयार गरी राष्ट्रियसभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिलाई बुझाएको छ ।

Share This:
सम्बन्धित खबर
Loading...