जनकपुरको राम मन्दिरको महत्त्व र धार्मिक पर्यटनको अवस्था पृथक छ : संस्कृतविद् डा.झा

7
  • सञ्जय यादव

जनकपुर, २४ चैत । जनकपुरको राम मन्दिरको पृथक इतिहास छ । जनकपुर आफैँमा एक महत्त्वपूर्ण राजधानी भएकाले यसको इतिहास बुझ्न जरुरी छ । कुनै समय जनकपुर नगर मिथिलाको राजधानी थियो । राजा जनकको राजधानी जनकपुर थियो । जनकपुर मिथिला प्रदेश भएकाले त्यो एक राज्य थियो । मिथिलाको आधा भाग नेपालपट्टी नै छ । भारततिर आधा भाग पर्छ । त्यसैले मिथिलाको राम नवमीको महत्त्व पनि भिन्नै छ । त्रेता युगदेखि नै विशेष महत्त्व राख्दछ ।

जनकपुर सीताको नगरी भएकाले पनि ऐतिहासिक र धार्मिक महत्त्व राख्दछ । जनकपुरमा सीताको विवाह भएका कारण राजा जनकको विशेष चर्चा पनि हुने गर्छ । यता, रामको जन्म पनि त्रेता युगमा भएकाले राम र सीताको सम्बन्ध उहीँ बेलादेखि चर्चामा छ । रामनवमी र राममन्दिरको महत्त्व पनि त्रेता युगदेखि नै छ । जब राम र सीताको विवाह भयो त्यसपछि जनकपुरको राम मन्दिरको चर्चा हुँदै आएको हो ।

त्रेतायुगमा जुवाइँहरु ससुरालीमा धेरै दिनसम्म बस्नुहुन्थ्यो । सबै किसिमका राजलिला गर्नुहुन्थ्यो । ससुरालीमा सवा महिना कम्तिमा पनि बस्ने चलन थियो । त्यसैले यहाँको कोबर घरमा राम सवा महिनासम्म बस्नुभयो । त्यसक्रममा राजा जनकले सीतालाई लिएर जान रामलाई आग्रह गरेको तथ्यहरु पढ्न पाइन्छ । त्यसैले राम र सीताको छाप यहाँ बसोस भनेर दुवैजनाको पूजा गर्न चलन आजसम्म छ ।

हिन्दु धर्ममा पहिलादेखि नै पुरुषप्रधान नै थियो र अहिले पनि छ । पहिला कुनै महिलालाई भन्नभन्दा पहिला पुरुषलाई निमन्त्रण दिने चलन छ । त्यसपछि महिला आफैँ आइहाल्नुहुन्छ भन्ने प्रचलन छ । राम श्रीमान् हुनुभयो, जुवाइँ हुनुभयो । जुवाइँलाई पहिला भन्नुपर्यो त्यसपछि छोरीलाई बोलाउदा पनि दुःख लाग्दैन । तर, जुवाइँलाई नगरे दुख लाग्छ भन्ने मान्यता छ । पुरुषप्रधान देश भएकाले राम मन्दिर जाँदा राजदेवीको मन्दिरमा पनि दर्शन गर्ने चलन छ । राजदेपी राजा जनकको कूल देवी हुनुहुन्थ्यो पनि भनिन्छ । त्यहाँ पहिले राजदेवीलाई पनि पूजा गर्ने त्यसपछि रामलाई पूजा गर्ने अनिमात्र सितालाई पूजा गर्ने प्रचलन छ ।

राम मन्दिरको अगाडिको पोखरीमा रामले धनुष उठाउनुभएको भन्ने मान्यता रहिआएको छ । त्यतिबेला धनुष तीन टुक्रा भएको थियो रे । एउटा टुक्रा धनुष सागरमा पनि खसेको थियो । त्यसैले त्यसको नाम धनुषसागर राखियो । अहिले भक्तजनहरु धनुष सागरमा स्नान गर्नुहुन्छ । त्यसपछि राम मन्दिरमा पूजाआजा गरेर कुलदेवीको पूजा गर्नुहुन्छ । तर, धनुष सागरमा कसैले ध्यान दिएको पाइँदैन ।

पहिले सवारी साधनको सुविधा थिएन । पैदल आउनुपर्दथ्यो । त्यसैले मान्छे कम आउथे । तर, अहिले सवारी साधनहरु धेरै भएकाले भक्तजनहरु पनि धेरै आउँछन् । पर्यटनको संख्या बढिरहेको छ । भारत र नेपालको सम्बन्ध हाम्रो धार्मिक कारणले पनि प्रगाढ भएको छ । बेटीरोटीको सम्बन्ध कायम छ । उताको जुवाइँको घर, यता बुहारी घर भएकाले आउने जानेक्रम जारी नै रहन्छ ।

राम मन्दिरको अर्को किवंदन्त पनि रहेको साधु सन्तहरुले भन्नुहुन्छ । यहाँ धेरै अगाडि अर्थात् ईसं. १९१० तिर एक जना बाबा आउनुभयो विन्दाञ्चलबाट । उहाँले यहाँ राम र सीताको अवस्था के छ भनेर हेर्नुभयो । हाल वर पिपलको रुख भएको ठाउँमा बस्नुभयो । बाबाले पूजा जहाँ गर्नुभयो त्यहाँ अहिले पनि पूजाआज गरिन्छ । चामल र सख्खर चढाउने प्रचलन नै बस्यो ।

यति भव्य र पवित्र धाम अहिले साँघुरोजस्तो लाग्छ । किन कि आज पनि मन्दिर गुठि संस्थाको आधारमा चल्छ । संस्थाले जति दिन्छ त्यसैकै आधारमा राम मन्दिर चलेको छ । त्यसैले राम मन्दिरमा भव्य तरिकाले राम नवमी मनाउन सकिएको छैन । त्यसमा सरकारले ध्यान दिनुपर्छ । अनुदानलाई बढाउनुपर्छ । साधु सन्तहरुको इच्छा पनि त्यहीँ छ । यतिबेला मन्दिर परिसर साधुसन्तले भरिएको छ तर व्यवस्थित छैन ।

राम नवमीका लागि साधुसन्त धेरै आउनुभएको पनि छ । उनीहरुको सुविधाको लागि गुठि संस्थानले बास, खाजाको व्यवस्थापन गरेको छ । त्यहाँ बस्न कोठा पनि दिनुभएको छ । तर, त्यो पर्याप्त होइन । गुठी संस्थानले जति गरिरहनुभएको छ ठिकै छ । मन्दिरको विकासको लागि बास व्यवस्थापन बढाउनुपर्छ । भारत र राम मन्दिरको सम्बन्ध प्रगाढ छ । राम जानकीको सम्बन्ध भएपछि यहाँको सम्बन्ध कहिल्यै टुट्दैन । त्यो सधैँ रहन्छ । राम र सीताको सम्बन्ध कहिलै टुट्दैन । विश्व समाप्त भएपछि पनि रामायण सधैँ रहिरहन्छ । हाम्रो राम मन्दिरमा अयोध्याबाट नै बारती (जन्ती) आउनुहुन्छ । भारतको राम मन्दिर र यहाँको सीताजीको जानकी मन्दिरबीच सम्बन्ध प्रगाढ हुन्छ । यहाँ आएर विवाह हुन्छ । जानकी जन्मोत्सवको बेलामा विवाह पञ्चमीको बेलामा विवाह उत्सव हुन्छ ।

(संस्कृतविद् डा.गायत्री झासँग नेपाल न्यूज बैंकले गरेको कुराकानीमा आधारित)

Share This:
सम्बन्धित खबर
Loading...