अर्घाखाँची, २४ चैत । अर्घाखाँचीको मालारानीमा भएको जिप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।
मालारानी गाउँपालिकाल–३ लुटिपोखरी–खनदह भित्री सडकखण्डमा लुटीपोखरीबाट खनदहतर्फ जाँदै गरेको लु२च २९९० नम्बरको जिप (सिङ्गल क्याब) अनियन्त्रित भइ आज बिहान दुर्घटना भएको हो ।
दुर्घटनामा मालारानी–४ का जीपचालक २२ वर्षीय दिलिप खनाल र २१ वर्षीय बालकृष्ण रिजालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिनुभयो ।
दुर्घटनामा मालारानी–४ का अन्दाजी १७ वर्षीय भुवन पोख्रेल र १७ वर्षीय वसन्त पोख्रेल घाइते भएका छन् । घाइतेलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल ‘रेफर’ गरिएको छ ।
जिप सडकबाट झन्डै २०० मिटर तल खसेको र घटनाका बारेमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रमुख मल्लले बताउनुभयो ।