काठमाडौँ, १८ चैत । राष्ट्रिय स्वतन्त्रता पार्टीका सांसद मनिष झाले चैत्र १५ गतेको राजनीतिक घटना मात्र नभइ राजनीतिक घटनाक्रम भएको बताउनुभएको छ ।
सोमबार संसद बाहिर उहाँले अस्तिको घटनाक्रमबाट धेरै कुराको सुरुवात पनि हुन सक्ने भन्दै यसलाई गम्भीरतापूर्वक लिएर त्यही अनुसार समाधान गर्न अनुरोध गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘प्रधानमन्त्रीले १०, १५ हजार आउँदै जाँदै गर्छन् भन्दै गर्दा अस्ति ४ हजार पनि सम्हाल्न सक्नुभएन । यो एउटा हामीले बुझ्नु पर्ने, राजनीतिक घटना र घटनाक्रम फरक कुरा हो । अस्तिको घटना मात्र होइन, घटनाक्रम हो त्यसबाट धेरै कुराको सुरुवात पनि हुन सक्छ । त्यसैले यसलाई गम्भीरतापूर्वक लिएर त्यही अनुसार समाधान गर्न अनुरोध गर्दछौँ ।’
यसका साथै उहाँले उक्त घटना संविधान र कानुनको दायराभन्दा बाहिर गएर भएको भन्दै त्यसमा रास्वपाको समर्थन नभएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘चैत्र १५ गते भएको घटना संविधान र कानुनको दायराभन्दा बाहिर गएर भएको छ र त्यसलाई हामी स्वीकार गर्दैनौँ, हाम्रो समर्थन पनि छैन । दोस्रो कुरा यसको छानबिन गरियोस् भनेर सचिवालय बैठकबाट निर्णय गरेका छौँ र तेस्रो आज सदनमा बोल्दै गर्दा पनि यसको स्पष्ट छानबिनको माग गरेको छु । यसमा राज्य र गृह प्रशासनको तर्फबाट जुन तयारी हुनुपर्ने थियो, त्यो भएन भन्ने कुरा स्वयम् आज प्रधानमन्त्रीले सदनमा स्वीकार गर्नु भइसकेको छ । त्यो कमजोरी प्रधानमन्त्री आफैँले स्वीकार गरिसकेपछि त्यसमा धेरै कुरा गर्नै परेन ।’