विश्वप्रकाशको प्रश्न- तीनकुने घटनाले सबैको हृदय दुख्यो, पूर्वराजाको किन दुखेन ?

35

काठमाडौँ, १८ चैत । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले तीनकुनेको घटनामा सारा जनताको हृदय दुख्दा पूर्वराजा ज्ञानेन्द्र शाहको हृदय नदुखेको बताउनुभएको छ ।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्नुहुँदै उहाँले राजा चाहियो भन्ने युवाहरुलाई हृदय नदुख्ने कस्तो राजा परिकल्पना गर्दै हुनुहुन्छ ? भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘शुक्रबारको घटनामा सबै राजनीतिक दलको वक्तव्य आएको छ । तोडफोड हुँदा सबैलाई दुख्यो । तर, निर्मल निवासलाई दुखेन नागरिक मर्दै गर्दा धेरैलाई दुख्यो तर निर्मल निवासलाई दुखेन । राजा चाहियो भन्ने युवाहरुलाई म भन्न चाहन्छु–तीनकुने घटनाले तपाईको हृदयलाई दुख्दै गर्दा हृदय नदुख्ने कस्तो राजा तपाईहरुले परिकल्पना गर्दै हुनुहुन्छ ?’

त्यस्तै, उहाँले गणतन्त्रको विकल्प खोज्ने भन्दापनि यसको प्रक्रियामा सुधार गर्नुपर्ने बताउनुभयो । ‘प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको मात्र वरिपरि घुम्न थाल्यो, राजा ल्याइयो भने उहाँहरुबाट मुक्ति हुन्छ भन्ने असन्तुष्टि रहेको छ । बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौला । तर, गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने सम्भावना छ ?’ भन्दै प्रश्न गर्नुभयो ।

उहाँले भन्नुभयो,‘आज कसैले गणतन्त्रको विकल्प खोज्दै छ भने बिग्रिएको मोटर बनाउन जोडेर गोरुगाडातर्फ फर्कने काम कसैले नसोचुन् । युवाहरुलाई राजा ल्यायो भने देशको विकास हुन्छ भन्ने भ्रम छ । आजको युवा जमेको पोखरी जस्तो नेतृत्व चाहन्छ कि बगेको नदी जस्तो ? प्रधानमन्त्रीको कुर्सी केही वर्षदेखि यता तीनवटा नेताको वरिपरि घुम्न थाल्यो । राजा ल्याइयो भने उहाँहरुबाट मुक्ति हुन्छ । प्रश्न असन्तुष्टि छ । तर, प्रक्रिया के त ? बुढो भएको नेतालाई त मतपत्रबाट बिदा गरौला तर गद्दीमा बसेको राजा कुनै मतपत्रबाट बिदा हुने छैन ।’

Share This:
सम्बन्धित खबर
Loading...