काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश पराजुलीले राज्य सम्वेदनशील बन्नुपर्ने समयमा रमिता हेरेर बसिरहेको बताउनुभएको छ ।
आइतबार संसद भवन बाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै सांसद पराजुलीले विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध गरेर प्रधानमन्त्री जवाफ दिन डराइरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘यतिखेर राज्य कति संवेदनशील बन्नुपर्ने हो तर सरकारले साच्चिकै अचम्म बनाएको छ । विगत चार–पाँच दिनदेखि सदन अवरुद्ध छ । सुशासनसँग जोडिएका मुद्दा र विशेषगरी सरकार आफ्नालाई र बिचौलियालाई पोस्ने काम गरिरहेको छ । राम्रा भनिएकाहरुलाई बर्खास्ती गर्ने र अध्याँरोबाट आमजनतालाई उज्यालोको सपना देखाउनेहरुलाई पनि हटाउने काम गर्दैगर्दा सदनबाट जवाफ मागिएको थियो । तर, अहिले फेरि अर्को घटनाले देशमा जटिल अवस्था आएको छ । यसको जटिल अवस्थामा पनि प्रधानमन्त्रीज्यू सदनप्रति जवाफदेही हुनुपर्नेमा बाहिर बाहिर हिँडिरहनु भएको छ ।’
साथै उहाँले शुक्रबार राजावादी आन्दोलनमा मृत्यु भएका दुई जनाको जिम्मेवार को हो भन्दै प्रश्न गर्नुभयो । उहाँले के कारणले दुई जनाको ज्यान गुमाउनुपर्यो भनेर सरकारले जवाफ दिनुपर्छ कि पर्दैन भन्दै प्रश्न गर्नुभयो ।