काठमाडौँ, १७ चैत । नेकपा (एमाले)का प्रमुख सचेतक महेश बर्तौलाले लगातार सदन अवरुद्ध गर्ने काम प्रमुख प्रतिपक्षीले गरिरहेको बताउनुभएको छ ।
आइतबार संसद् भवनमा सञ्चारकर्मीसँग कुरा गर्नुहुँदै बर्तौलाले बाहिर गणतन्त्रको पक्षमा नाराबाजी गर्ने र सदनभित्र गणतन्त्रका विरुद्ध ढुंगा हान्नेहरूसँग कुम जोडेर सदन चल्न नदिने कुराले माओवादीको राजनीतिक दृष्टिकोणप्रति नै प्रश्न खडा भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘प्रमुख प्रतिपक्षले लगातार चार दिनदेखि संसद् बैठक अवरुद्ध गरिरहेको छन् । प्रमुख प्रतिपक्षले लाज मान्नुपर्ने हो । प्रमुख प्रतिपक्षी दलहरुको राजनीतिक दृष्टिकोणमाथि नै अब प्रश्न चिन्ह खडा भइसकेको छ । बाहिर गणतन्त्रका पक्षमा नाराबाजी लाउने, संसदमा गणतन्त्रका विरुद्धमा ढुंगा हान्नेहरुसँग कुम जोडेर संविधान बमोजिम यो हाउस चल्न नदिने ?’
साथै उहाँले मुलुकमा प्रकट भएका गम्भीर विषयहरूलाई सदनमा गम्भीर रूपमा छलफल गरेर पूर्वराजालाई कारबाहीको दायरामा ल्याउनका लागि साझा मत बनाउनुपर्नेमा माओवादीका कारण अवरोध सिर्जना भएको उहाँको जिकिर छ ।
उहाँले शुक्रबारको घटनाको मुख्य दोषी पूर्वराजा ज्ञानेन्द्र शाह नै भएकाले कानुनबमोजिम कारबाही गर्नुपर्ने, पूर्वराजालाई दिएको सबै सेवा सुविधा फिर्ता गर्नुपर्ने बताउनुभयो ।