काठमाडौँ, १६ चैत । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष एवम् प्रवक्ता अग्निप्रसाद सापकोटाले शुक्रबारको प्रदर्शन ज्ञानेन्द्र शाहको योजनामा भएको भन्दै प्रदर्शनका आयोजकलाई सम्पूर्ण घटनाप्रति जवाफदेही बनाउन र अझ गम्भीर अनुसन्धान गरी दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गर्नुभएको छ ।
उहाँले शनिबार प्रेस विज्ञप्ति जारी गर्दै शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट भएको बताउनुभयो ।
‘ज्ञानेन्द्र शाहको योजनामा उनका मतियारहरूले शुक्रबार गरेको प्रदर्शन विध्वंशको पराकाष्ट थियो । हिंसात्मक प्रदर्शनमा पत्रकार सुरेश रजक तथा सविन महर्जनको मृत्यु भएको छ । साथै नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को पार्टी कार्यालय एवम् निजी तथा सार्वजनिक सम्पत्तिको तोडफोड गर्ने, सञ्चार गृह र औषधि कारखानामा आगो लगाउने, डिपार्टमेन्ट स्टोरभित्र पसेर सामानहरु लुट्ने जस्ता डकैतीजन्य, अमानवीय र अराजक कार्यको घोर भत्र्सना एवं निन्दा गर्दछु,’ उहाँले विज्ञप्तिमा भन्नुभएको छ ।
उहाँले शुक्रबारको समाजवादी मोर्चाको बृहत् जनप्रदर्शन र जनसभाले तत्कालीक रुपमा सरकारप्रति खबरदारी र ज्ञानेन्द्र शाहको योजनाबद्ध उक्साहटमा उदण्ड जत्थालाई एकैसाथ मुखतोड जवाफ दिएको बताउनुभयो ।
यसका साथै उहाँले जनताको गणतन्त्र स्थापनाका लागि एउटा ऐतिहासिक कोसेढुङ्गाको काम गरेको पनि बताउनुभयो । प्रवक्ता सापकोटाले जनसभामा सहभागिता भएकाहरुलाई धन्यवाद समेत दिनुभएको छ ।