- सबिता नयाजु
ललितपुर, १६ चैत । नेपालमा घोडेजात्रा पर्व मनाउने फरक फरक तौर तरिका छन् । काठमाडौँको टुँडिखेलमा दर्जनौँ घोडा दौडाएर यो पर्व मनाइन्छ । घोडचढी गरेर विभिन्न कला कौशल प्रदर्शन गरिन्छ । उच्च पदस्थ अधिकारी र युद्ध कलामा खारिएका नेपाली सेनाले घोडामा चढेर विभिन्न कला प्रदर्शन गर्छन् । त्यसैले टुँडिखेलको घोडेजात्रा चर्चामा छ साथै कला कौशल हेर्न सयौँ मानिसहरु त्यहाँ झुम्मिन्छन् ।
तर, ललितपुरमा एक्लो घोडा दौडाउने चलन करिब ३५० वर्ष अघिदेखि आजसम्म जारी छ । मल्लकालदेखि चल्दै आएको ललितपुरको घोडेजात्राको अलग्गै महत्त्व छ । ललितपुर बल्खुटोलका स्थानीय बासिन्दाले घोडामा सवार गरेर विभिन्न स्थानको परिक्रमा गर्दै घोडेजात्रा मनाउने चलन यद्यपि कायम छ । पाटन मंगलबजारभित्रको चिबहाल टोलस्थित भीमसेन गुठी च्योखलःका स्थानीय गुठियारहरुले यो जात्रालाई जोगाइरहेका छन् ।
यसै सन्दर्भमा च्योखलःका एक सदस्य सानुकाजी महर्जनले लतिलपुरको घोडेजात्रा सिद्धिनर्सिङ महाराजाको पालादेखि नै चल्दै आएको बताउनुभयो । उहाँका अनुसार राजा सिद्धिनर्सिङले ‘च्यो खल’ को एक सदस्यलाई घोडे जात्राको एक दिन सबै राज्य नै सुम्पिएपछि नेवार जातिले यो जात्रा मनाउन सुरु गरेका हुन् ।
उहाँले भन्नुभयो, ‘सिद्धिनर्सिङ राजा महाराजको पालादेखि नै बालकुमारीमा घोडा घुमाउने प्रथा थियो । एकदिन गुठियारका एकजोडी बाजेबोजु काम गर्दागर्दै थकित भएर घोडा राख्ने ठाउँमा सुतिराख्नुभएको बेलामा नागराजा सिरमा आएर छाँया दिएर बसिराखेको हाम्रो पूर्वमहाराजाले देख्नुभएको रहेछ । त्यसपछि उहाँ त हामी भन्दा पनि ठुलो मान्छे हुनुहँदोरछ भनेर घोडे जात्राको दिन एक दिन चाहिँ उसैलाई नै राज्य छोडिदिन्छौँ भनेर यो प्रथाहरु चल्दै आएको हो । एकदिनको लागि राजाले छोड्दिएको प्रसंग र राजाले एक दिनका लागि राज्य सुम्पिन्छु भनेपछि भनेकाले नेवार जातिहरुलाई नै घोडा परिक्रमा गराउने काम दिन्छौँ भनेर राजाले नै दिनुभएको हो ।’
काठमाडौँमा मनाउने घोडे जात्रा भनेको दर्शकहरुलाई देखाउनको लागि मात्र भएको भन्दै त्यसको पृथक र गहन सांस्कृतिक महत्त्व नभएको पनि उहाँको भनाइ छ । जात्राको लागि घोडाको जिम्मा पहिलादेखि नै सरकारले नै लिएको, सिंहदरबारदेखि घोडा आउने गरेको भन्दै सरकारले ललितपुरको लागि घोडा नपठाएसम्म सिंहदरबारमा दौड सुरु नहुने परम्परा पनि चलि आएको छ ।
यसका साथै महर्जनका अनुसार पहिला पहिला बलियो जो छ त्यसलाई घोडा दौडाउने जिम्मा दिने गरेको थियो भने अहिले कार्यसमितिबाट छनोट गरेर तालिम दिने गरिएको उहाँले सुनाउनुभयो ।
उहाँले भन्नुभयो, ‘पहिला पहिला जो अलिकति मोटो, दरिलो र बलियो छ उसैलाई घोडामा राखेर दौडाइने गरिन्थ्यो । तालिमको व्यवस्था थिएन । जो बलियो व्यक्ति आएर म गर्छु भन्यो भने अनि राख्ने चलन थियो । तर, पछिल्लो समय कार्यसमिति बनेकाले बैठकमा आएको प्रस्तावका आधारमा नाम फाइनल गर्ने चलन छ । प्रस्तावित व्यक्तिलाई तालीम दिने गरिएको छ । पहिला त पुर्खाहरुले नै चढ्नुहुन्थ्यो उहाँहरु पाको पनि हुनुभयो । त्यसैले उहाँहरुकै अनुमतिमा अरु युवाहरुले गर्न मिल्छ भनेर अहिले सुरु भयो । र गुठी संस्थानलाई निवेदन दिएर संस्थानले सिंहदरबारको घोडा दौडाउने तालिम दिने ठाउँमा पत्र पठाउँछ र तालिम प्रदान गरिन्छ ।’
जात्रा कसरी सुरु हुन्छ भन्दा गुठीमा रहेको ४८ जना सदस्यले पहिला ६०–७० धार्नीको एउटा राँगा ल्याएर मन्दिरभित्र भीमसेनलाई बलि चढाउने प्रथा छ । त्यसपछि कृष्ण मन्दिरको दाहिने पट्टी नाग मन्दिरको पछाडि बसेर बेलुका सानो भोज गर्ने गरिएको जसलाई नेवारी भाषामा ‘छोइलाबू’ भनिने गरेको उहाँले सुनाउनुभयो ।
‘त्यो भोज गुठी सदस्य ४८ जनाले मात्र बसेर खाने हो । बसेर भोज खाने ठाउँमा सदस्य बाहेक अरु कोही आउन मिल्दैन । जात्रा भनेपछि सबैको घरमा भोज हुन्छ तर जात्राको अघिल्लो दिन राँगा काटेर गरिने भोज र जात्राको दिन पाटीमा बसेर खाने भोज गुठियारले मात्र खाने हो,’ उहाँले भन्नुभयो ।
‘भोजको भोलिपल्ट घोडेजात्रा हुन्छ, जात्रा सुरु हुनुभन्दा अगाडि गुठीले हरेक वर्ष भीमसेन मन्दिरमा गजूर जस्तै ‘किकिप्पा’ चढाउने गर्छ । किकिप्पा चढाइसकेपछि फूलहरु दिएर सबैलाई प्रसाद वितरण गर्दै भोज खाने गरिन्छ । त्यसपछि घोडा सिंहदरबारबाट ल्याएर मूलचोकमा राखिन्छ । भोजपछि घोडालाई टोलको चिवाचा भन्ने ठाउँमा बाँध्नुपर्छ । घोडा बाँधेर र घोडा चढ्नेलाई पनि फूलको मालाहरु दिएर पूजाआजा गरेपछि जात्रा सुरु हुन्छ,’ उहाँले परम्परा सुनाउँदै भन्नुभयो ।
‘मूलचोकबाट सुरु भएको जात्रा बालकुमारी लगिन्छ, बालकुमारीबाट गणेश मन्दिरमा लगिन्छ । दुई तीन परिक्रमा गराइन्छ । परिक्रमा सकिएपछि पहिलाको चलन अनुसार सरकारका मान्छे आएर घोडा चढ्नेलाई पानसुपारी दिएपछि जात्रा समापन गर्ने चलन थियो । त्यसकै निरन्तरता स्वरुप अहिलेपनि सरकारका प्रतिनिधि आएर घोडा चढ्नेलाई पानसुपारी दिइन्छ र त्यसपछि जात्रा समापन गरिन्छ,’ उहाँले भन्नुभयो ।
ऐतिहासिक र सांस्कृतिक महत्त्व बोकेको यस्तो चलनलाई हालसम्म बचाइराखेको भएपनि सरकारले कुनै ध्यान दिन नसकेको उहाँको गुनासो छ । उहाँले ललितपुरको घोडे जात्राको बारेमा बृहत् चर्चा भइरहेकाले अब गरेन भने किन नगरेको भन्ने प्रश्न उठ्ने, आयोजना गर्नलाई सरकारको सहयोग नहुने गरेको दुखेसो पनि गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘यो संस्कृति हामीले बचाइरहेका छौँ । संस्कृतिती बचाउनुपर्छ भनेर पनि लागिरहेका छौँ । सरकारलाई धेरै पटक अनुरोध गर्दा पनि अहिलेसम्म सरकारको ध्यान गएको छैन । संस्कृति जोगाउनुपर्छ भनेर भाषणमा मात्र गर्नुहुन्छ । जात्राका लागि लाखौँ रुपैयाँ खर्च हुन्छ, त्यसका लागि हामी गुठीमा रहेको ४८ जनाले मात्र पैसा राख्ने गरेका छौँ । हामीलाई धेरै गाह्रो भइसकेको छ । ललितपुरको घोडे जात्राको बारेमा व्यापक रुपमा चर्चा भइसकेको छ । अब गरेन भने किन नगरेको भन्ने प्रश्न उठ्छ । गर्नका लागि सधैँ आफ्नो खल्तीबाट पैसा राख्नुपर्छ । यसबारे सरकारको ध्यान जान जरुरी छ ।’
भोज खानको लागि बस्ने गरेको पाटी भूकम्पले भत्काएको हुनाले त्यसका लागि बजेटको माग गर्दा ललितपुर महानगरपालिका र वडाले आश्वासन मात्र दिएको उहाँको गुनासो छ । कतिपयले घोडे जात्राको परम्परा छाड्नुपर्ने बताए पनि दैवी प्रकोप लाग्ने डरले छाड्न नसकिएको बताउनुभयो ।
जात्रालाई व्यवस्थित गर्नका लागि ज्यापु समाज र मंगलबजारमा प्रहरीहरुले केही हदसम्म सहयोग गरे पनि यसमा सरकारको तर्फबाट पहल भए अझ व्यवस्थित हुने कुरामा पनि उहाँले जोड दिनुभयो । -नेपाल न्यूज बैंक