शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउन पार्टी फुटाउन पनि तयार छु : प्रचण्ड

66

काठमाडौँ, १४ चैत । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले टिआरसीमा पीडितहरुलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्नुपर्छ भन्ने कुरामा राजनीतिक नेतृत्व तहमा कहिले विवाद नभएको बताउनुभएको छ ।

बिहीबार काठमाडौँमा आयोजित संक्रमणकालीन न्यायसम्बन्धी राष्ट्रिय सम्मेलनमा उहाँले सबै विवाद र बिमतीको बीचमा पनि शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रुपमा कहिले विवाद नभएको भन्दै त्यही भएर राजनीतिक द्वन्द्व जस्तो समयमा पनि विधेयक संशोधनको कुरा टुङ्ग्याउन सफल भएको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘टिआरसीमा पीडितहरुलाई सम्बोधन गर्ने कुरा उच्च प्राथमिकतामा राख्न पर्छ भन्ने कुरामा राजनीतिक नेतृत्व तहमा कहिले पनि विवाद भएन । मानिसलाई कहिलेकाहीँ लाग्छ यस्तो होइन होला भनेर तर राजनीतिक नेतृत्वहरु मूलत पीडितहरुलाई न्याय दिने कुरालाई प्राथमिकता दिएर मात्र शान्ति प्रक्रियालाई दिगो बनाउन सकिन्छ भन्ने कुरामा पनि हामी कहिले पनि अन्यौलमा परेनौँ । अहिले पनि राजनीतिक दलहरुको बीचमा विवादहरु छन् । प्रमुख दलहरु नै कोही सत्ता पक्षमा छौ कोही प्रतिपक्षमा छौँँ, विवाद चलिरहेको छ । सदनमा बहस भइरहेको छ, यी सबै विवाद र विमतीको बीचमा पनि शान्ति प्रक्रिया टुङ्ग्याउनुपर्छ भन्ने कुरामा सैद्धान्तिक रुपमा कहिले पनि विवादमा भएनौँ । ढिला त भयो र विवादले गर्दा भएको होइन त्यो भन्न मिल्दैन ।’

यसको साथै, उहाँले शान्ति प्रक्रियालाई सफलतापूर्वक अगाडि बढाउनका लागि आफ्नो पार्टी विभाजन गर्न पनि तयार भएको कुरा पनि सुनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘शान्ति प्रक्रियालाई सफलतापूर्वक अगाडि बढाउनका लागि आफ्नो पार्टी विभाजन गर्नुपर्छ भने पनि ठिक छ । तर, शान्ति प्रक्रिया दुर्घटनामा नजाओस भनेर धेरै जोखिम उठाएर हामीले सेना समायोजनसँग सम्बन्धित विषय वा संविधान निर्माण प्रक्रियासँग सम्बन्धित विषयमा राजनीतिक तहमा समझदारी गर्ने प्रयास गरिराख्यौँ ।’

आफू शान्ति सम्झौताको हस्ताक्षरकर्ता र हिजो विद्रोहको नेतृत्व गरेको नाताले पनि शान्ति प्रक्रियाका अत्यन्तै जटिल र संवेशनशील विषयहरुलाई टुङ्गोमा पुर्‍याउन आफ्नो ठाँउबाट धेरै जोखिम उठाएको पनि उहाँको भनाइ छ ।

Share This:
सम्बन्धित खबर
Loading...