काठमाडौँ, १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा शान्ति प्रक्रिया आफैँले सुरू गरेको दाबी गर्नुभएको छ ।
बिहीबार काठमाडौँमा आयोजित नेपालको संक्रमणकालीन न्याय प्रक्रिया तथा द्वन्द्व पीडितहरूको सत्य, न्याय र परिपूरणीय अधिकारसम्बन्धी राष्ट्रिय सम्मेलनमा बोल्नुहुँदै प्रधानमन्त्री ओलीले शान्ति प्रक्रिया आफैँले सुरू गरेको भए पनि आफू श्रेयको भोको नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा शान्ति प्रक्रिया आफैँले सुरू गरेका छौँ । आफैँले गरेर अगाडि बढाएका हौँ । कसले श्रेय लिने हो भन्ने कुरा छाडौँ । म यसलाई सफलमात्रै पार्न चाहन्छु । श्रेय जति मबाहेक सबैलाई दिन चाहन्छु । मलाई श्रेयको भोक छैन । श्रेय चाहिएन सफल पारौँ । पीडितका घाउमा मल्हम लगाउँ, उहाँहरुको आँशु पुछौँ ।’
त्यस्तै, उहाँले ठुला तीन दल मिल्ने हो भने शान्ति प्रक्रियालाई टुङ्गो लगाउन सकिने पनि धारणा राख्नुभयो ।
‘वास्तवमा हामी मिल्यौँ भने यसलाई टुङ्ग्याउन नसक्ने कुरा छैन । पीडितलाई न्याय दिन नसकिने भन्ने छैन । सकिन्छ, सक्नुपर्छ र हामी सक्छौँ पनि । प्रधानमन्त्रीको हैसियतले यो भन्न चाहन्छु,’ उहाँले भन्नुभयो ।
त्यस्तै, प्रधानमन्त्री ओलीले आयोगहरु सलबलाउन नसक्नु दुर्भाग्यको कुरा रहेको पनि बताउनुभयो ।