विश्व रंगमञ्च दिवस : नेपाली रंगमन्च फिल्ममा जाने खुड्किलो मात्र भयो

12
  • प्रमिला कार्की

काठमाडौँ, १४ चैत । पछिल्लो समय नेपालमा रंगमञ्चको क्षेत्रमा सम्भावनासँगै चुनौती पनि बढिरहेको छ । चुनौतीसँगै रंगमञ्चको सङख्या बढेसँगै क्षेत्र भने फराकिलो बन्दै गएको छ । नाटकमा दर्शकहरुको रुची बढिरहेको छ । रंगकर्मीहरुको संघर्ष पनि निकै गर्व गर्न लायक छ ।

रंगमन्चको संख्या बढ्नु र रंगकर्मीहरु यतातिर आकर्षित हुनु सकरात्मक देखिए पनि दर्शकहरुको रुची अनुसारको नाटक अझै बन्न नसकिरहेको स्वयम् रंगकर्मीहरु नै पनि स्वीकार्ने गर्छन् ।

नेपाल न्यूज बैंकसँगको कुराकानीमा रंगमञ्चकर्मी सिर्जना अधिकारीले पछिल्लो समय नेपालमा रंगमञ्चको अवस्था सुदृढ हुँदै गएको भएता पनि गुणस्तरीय र फरक शैलीका नाटक भने दिन नसकेको स्वीकार्नुहुन्छ । नाटकमा बहस र अन्तरक्रिया एकदमै आवश्यक रहेको भन्दै त्यसो गरेमात्र आउने दिनहरुमा रंगमञ्चको क्षेत्रमा काम गर्न सहज हुने उहाँको विश्वास छ ।

उहाँले भन्नुभयो, ‘यतिबेला नेपाली रंगमञ्चको अवस्था सामान्य छ । पहिलेको तुलनामा अहिले धेरै रंगमञ्चहरु खुलेका छन् । कलाकारहरुको संख्यापनि बढ्दो छ तर क्वालिटी अलि दिन नसकेको हो कि जस्तो लाग्छ । एउटै जनरलका फिल्महरु पनि बनिरहेको हुन्थ्यो कुनै समय त्यस्तै अहिले नाटकमा पनि एउटै जनराको नाटकहरु मन्चन भइरहेको हो कि जस्तो लाग्छ । त्यसैले सुधार गर्नुपर्ने विषयमा वहस जरुरी भइसकेको छ ।’

त्यस्तै, पछिल्लो समय नाटकमा नै बसेर जीविकोपार्जन गर्न कठिन भएको कारण नाटकबाट उदाएका कलाकारहरु फिल्म क्षेत्रमा लाग्ने र नाटकमा नफर्कने समस्या बढिरहेको सुनिन्छ । तर, यसमा रंगमञ्चकर्मी अधिकारी भने विमति राख्नुहुन्छ ।

‘यसमा म चाहिँ सहमत छैन । नाटकक्षेत्रमा जीविकोपार्जन गर्न पैसा नै छैन भन्नुहुन्छ कतिजनाले यस्तो कुरा हामीले पहिल्यैदेखि सुन्दै आइरहेका छौँ । हाम्रो सिनियरहरुले त्यहीँ नै भन्नुहुन्थ्यो । त्यसलाई स्वीकार गरेर आएका हौँ । मैले काम गरेको १८ वर्ष जति भयो, आजसम्म पनि छु । पैसा नभएर त होइन नि । यति धेरै रंगमञ्चहरु खुलिरहेको छ, बिना पैसा त खुल्दैनन् । पैसा छैन भन्दाभन्दै बिना पैसा कसले काम गर्छ त,’ उहाँले भन्नुभयो, ‘त्यसमा परिधिहरु फरक छन होला माध्यमहरु फरक छन् होला तर पैसा छ । अहिलेको अवस्था कसरी अगाडि लैजाने पैसा अनुसारको काम कसरी दिने भन्ने नै हो । म सर्भाइभ भइरहेको छु भनेपछि पैसा त छ नि । कुन तहको डिमान्ड गर्ने भन्ने आफैँमा निर्भर गर्ने कुरा हो । सामान्य जीवन बिताउनका लागि सबैलाई पुगिरहेको छ ।’

उहाँले अहिले रंगमञ्चमा आउने कलाकारले रंगमञ्चलाई फिल्ममा जाने खुड्किलोको रुपमा मात्र लिएको भन्दै यस्तो गर्नु गलत भएको बताउनुभयो । राम्रो मेहनत गरेर काम गरेको खण्डमा माथि पुग्छौँ । त्यतिकै चमत्कार हुँदैन भन्ने कुराको हेक्का सबै कलाकारमा हुनुपर्ने उहाँको भनाइ छ ।

यसमा थप्दै उहाँले भन्नुभयो, ‘नाटकमा नै फोकस गरेर काम गरौ न भन्ने टिमवर्कमा काम गर्ने भनेर आउनुहुन्थ्यो भने अहिले चाहिँ रंगमञ्च फिल्ममा जाने खुड्किलो मात्र भएको छ । खुड्किलो मात्र होइन राम्रो मेहनत गरेर अभिनय देखाउन सकियो भने रंगमन्चबाटै चमत्कार गर्न सकिन्छ ।’

उहाँले नेपाली सिनेमा क्षेत्रमा नाटकबाट गएका कलाकारहरुको सशक्त भूमिका रहेको भन्दै भन्नुभयो, ‘अहिले फिल्म क्षेत्रमा पढेर बुझेर नै जाने क्रम बढेको छ । नाटकबाट जानुभएको कलाकारहरुले फिल्ममा राम्रो गरिराख्नुभएको छ । आफ्नो स्थान बनाइराख्नुभएको छ ।’

त्यस्तै, तपाई फिल्म र नाटक कुनमा बढी सन्तुष्ट हुनुहुन्छ भन्ने प्रश्नमा उहाँले भन्नुभयो,‘नाटक भनेपछि रगतमा नै बसेको छ । आनन्द महसुस गरिन्छ । कलाकार भएर सबै काम गर्नुपर्‍यो । नाटकमा फ्लोमा बग्न पाइन्छ । आफ्नो हिसाबले काम गर्न पाइन्छ । फिल्ममा अलिकति टेक्निकल पनि काम गर्नुपर्छ । दुवैमा सन्तुष्ट छु ।’

रंगमञ्च सम्भावना भएको क्षेत्र भएकाले मार्केटिङ गर्न सकियो भने अझ धेरै राम्रो हुने उहाँको बुझाइ छ । ‘रंगमञ्च सम्भावना नभएको क्षेत्र होइन । नाटकमा बुझ्ने पढ्ने सिक्ने सबै प्याकेजको रुपमा पाइन्छ । जीवन बुझ्नका लागि नाटक चाहिन्छ । फिल्ममा जान प्रयोग गरिरहेको पनि छन् । मार्केटिङ गर्न सकियो भने अझ धेरै राम्रो हुने सम्भावित क्षेत्र हो ।’

सधैँ एउटै खालको नाटक भएको गुनासो आइरहेका बेला नयाँ शैलीका नाटकहरु ल्याउनु चुनौती रहेको उहाँले बताउनुभयो । नाटकमा पहिलेको जस्तो हेर्न आउनेको माहोल नभएको भन्दै यसमा सबै रंगमञ्चकर्मीहरुले सोच्ने समय आएको उहाँको ठम्याइ छ ।

उहाँले भन्नुभयो, ‘डिलिङ कसरी गर्ने भन्ने कुरा नै चुनौतीको रुपमा छ । नाटकहरु कस्तो तरिकाले ल्याउन सकिन्छ, सधैँ एउटै खालको नाटक गर्ने कि नगर्ने अब कसरी जाने त्यो अहिले नाटकको क्षेत्रमा खड्किएको कुरा हो । हिजोआज अग्रजहरु देख्न पाइँदैन । पहिला पहिला कलेजहरु सबै उर्लिएर आउनुहुन्थ्यो नाटक हेर्न अहिले माहोल छैन । त्यो हामीले दिन नसकेको हो, यसमा कसरी पार गर्ने सबै रंगमञ्चकर्मीहरुले सोच्ने विषय हो, समय पनि आएको छ ।’

उनले देशमा सरकार नै स्थिर नरहेको अवस्थामा सरकारबाट कुनै सहयोगको अपेक्षा राख्नु नै गलत हुने धारणा पनि राख्नुभयो ।

यस्तै, कलाकार तथा रङ्गमञ्चकर्मी प्रमोद अग्रहरी दिल्लीमा गएर नाटकसम्बन्धी पढेपछि २००७ देखि रङ्गमञ्चको यात्रा सुरु गरेको बताउनुभयो । उहाँले आफ्नो नाटकको यात्रा सुनाउँदै गर्दा पहिलाको नाटक र रङ्गमञ्च शुद्ध हुने गरेको भन्दै पछिल्लो समय यो क्षेत्र व्यापारिकणको चपेटामा परेको उल्लेख गर्नुभयो ।

साथै डाइरेक्सन र नाटकका लागि तीनचार महिनाको बुझाइले नपुग्ने त्यसका लागि एकदमै ठुलो तपस्या गर्नुपर्ने भन्दै अहिलेको नयाँ पुस्तामा त्यो कुराको कमि देखिएको पनि उहाँको भनाइ छ ।

‘पछिल्लो समय जुन नाटकहरु भइरहेका छन्तिी स्तरीय नभएजस्तो लाग्छ । म आफैँ नाटकहरु हेर्न गएको छैन । यसको कारण अहिले सिक्दै गरेकाहरुकोे कामले डाइरेक्सन तीनचार महिनामा बुझ्न सक्दैनन् । त्यसका लागि एकदमै ठुलो तपस्या नै गर्नुपर्छ,’ उहाँले थप्नुभयो ‘पहिला एकदमै शुद्ध काम हुन्थ्यो जस्तो लाग्थ्यो तर अहिले व्यापारीरकण बढी भयो जस्तो लाग्छ । देखावटी बढी नै भयो ।’

नाटक घर र रङ्गमञ्च भन्नेबित्तिकै विद्रोह गर्ने ठाँउ हो, जहाँ समाज र आफ्नो रुपान्तरण हुन्छ तर यसलाई व्यापारीकरण गरिएको पनि उहाँको गुनासो रहेको छ ।

यस्तै, उनले घर बनाउनका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा जग भएको भन्दै अभिनयको जग नाटकघर र रङ्गमञ्चबिना कुनै सिनेमा र कलाकार बन्न नसक्ने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘अहिलेको सन्दर्भमा फिल्म क्षेत्रमा रङ्गमञ्चबाट गएका कलाकारहरु पनि धेरै मात्रामा छन् । मेरो लागि नाटकघर भनेको बाँच्न सिकाउने ठाँउ हो जस्तो लाग्छ । किनभने घर बलियो बनाउनको लागि जग बलियो हुनुपर्छ रङ्गमञ्च भनेको जग हो त्यो बिना हामीले सिनेमामा पनि काम गर्न सक्दैनौँ । यसको साथै यससम्बन्धीको पढाइ पनि एकदमै जरुरी हुन्छ । म रङ्गमञ्च र फिल्म दुवैमा रमाउने मान्छे हो ।’

यस क्षेत्रमा राज्यको ध्यान नगएकोतर्फ पनि उहाँले दुःख व्यक्त गर्नुभयो । यस क्षेत्रमा राज्यले जति ध्यान दिनुपर्ने थियो त्यो हिसाबको नभएको उहाँको बुझाइ रहेको छ ।

उहाँले भन्नुभयो, ‘राज्यबिना हामी केही होइनौं, न सिनेमामा केही हुन्छ न नाटकघरहरुमा केही हुन्छ । त्यसकारण यसका लागि राज्यले सजिलो वातावरण भने बनाइदिनुपर्छ । नेपाली सिनेमा र रङ्गमञ्चहरुका लागि सरकारी निकायबाट केही कामहरु गर्नुपर्छ जस्तो लाग्छ ।’

उहाँले रङ्गमञ्च दिवसको अवसरमा सबै रङ्गमञ्चकर्मीहरुलाई एकमुष्ट रुपमा शुभकामना पनि दिनुभयो । -नेपाल न्यूज बैंक

Share This:
सम्बन्धित खबर
Loading...