आनन्द अस्पतालका सञ्चालक पक्राउ

16

रौतहट, १३ चैत । रौतहटको शिवनगरमा रहेको आनन्द अस्पताल एक्युपञ्चर सेन्टर प्रालिका सञ्चालक उमेशप्रसाद जयसवाललाई प्रहरीले पक्राउ गरेको छ ।

गरुडा नगरपालिका वडा नम्बर ५ शिवनगरमा रहेको सो अस्पताल मापदण्ड पूरा नगरी सञ्चालन गर्दै आएको थियोे ।

केही दिनअघि मधेस प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले अनुगमन गर्दा मापदण्ड पूरा नगरेको पाइएपछि अस्पताल बन्द गर्न निर्देशन दिनुभएको थियो । मुख्यमन्त्रीको निर्देशनलाई अवज्ञा गर्दै सञ्चालनमा आएपछि प्रहरीले बुधबार सञ्चालक जयसवाललाई पक्राउ गरेको हो ।

नयाँ बिरामी भर्ना गरी उपचार गरिरहेको गुनासो आएपछि प्रहरीले जयसवाललाई सोधपुछका लागि नियन्त्रणमा लिएको जनाएको छ । रौतहटका प्रहरी उपरीक्षक दिलिप घिमिरेका अनुसार पक्राउ परेका अस्पताल सञ्चालक जयसवालसँग सोधपुछ कार्य भइरहेको तथा आवश्यक अनुसन्धान कार्य अघि बढाइएको छ ।

आनन्द हस्पिटल एक्युपञ्चर सेन्टरमा मापदण्ड अनुसारका चिकित्सक, आवश्यकता अनुसारको उपकरण समेत नभएको अनुगमनका बेलामा पाइएको थियो । तर, पनि अस्पताल सञ्चालकले अस्पताल सञ्चालन गर्दै बिरामी भर्ना गरेको आरोप लागेको छ । तर, अस्पताल प्रशासनले नयाँ बिरामी भर्ना नगरेको र पुराना बिरामी फलोअपका लागि आएको दाबी गरेको छ ।

Share This:
सम्बन्धित खबर
Loading...