देशमा नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको छ : गृहमन्त्री लेखक

26

काठमाडौँ, १३ चैत । गृहमन्त्री रमेश लेखकले लोकतन्त्र प्राप्तपछि सरकारले देशमा धेरै काम गरेपनि केही गर्न सकेन भन्ने नकारात्मक भाष्य निर्माण गर्ने प्रयास भइरहेको बताउनुभएको छ ।

आज भक्तपुरको दुधपाटीस्थित जुद्ध बारुण यन्त्र कार्यालयको नयाँ कार्यालय भवन उद्घाटन गर्नुहुँदै उहाँले लोकतन्त्र प्राप्तपछि सरकारले केही गर्न सकेन, देशमा केही भएन भन्ने गरि भाष्य निर्माण गर्नु गलत भएको बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘तत्कालीन राजाले ‘कु’ गरेर प्रजातन्त्र समाप्त पारेको दिन जनताले बिर्सनुभएको छैन भन्ने मलाई विश्वास छ । प्रजातन्त्र समाप्त पारेर राज्य सत्ता एकलौटी हातमा लिएपछि सबभन्दा पहिला नेपाली सेना र प्रहरीले सञ्चार माध्यममा छापा मारेर समाचारमा रोक लगाएको, प्रकाशित पत्रिकाहरु बन्द गराउनेदेखि जफत गरेर लगेको, पत्रकारलाई धम्क्याएको, जनताको आवाज बन्द गराएको सिंगो प्रेस जगत र जनताले बिर्सेका छैनन्, त्यसैले यो व्यबस्था चाहिँदैन भनेर नेपाली जनताले भन्नु सक्नुहुन्न ।’

गणतन्त्रको विकल्प अन्य कुनै व्यवस्था हुन सक्दैन भन्दै उहाँले भन्नुभयो, ‘केही हुँदै नभएको, केही गर्दै नगरेको होइन, धरै काम भएका छन् तर जनताले सोचे जस्तो छिटो काम नभएको पक्कै हो । मुलुकमा समस्या छैनन् भनेर म भन्दिनँ, समस्या छन्, त्यसलाई हल गर्दै अगाडि जाने व्यबस्था लोकतन्त्र मात्रै हो ।’

विभिन्न चुनौती र समस्याका बाबजुद धेरै काम भएको बतउँदै उहाँले एकतन्त्रीय व्यवस्थाले जनताको आवाज, सञ्चारको आवाज कुल्चिन्छ र लोकतन्त्रले जनता र सञ्चालको आवाजलाई सुनेर समृद्धिको यात्रामा अगाडि बढ्ने बताउनुभयो ।

गृहमन्त्री लेखकले भन्नुभयो, ‘जनताको स्वतन्त्रता, भावना, आवाज बन्द गर्ने निरंकुशताको शासन हामीले व्यहोरी सकेका छौँ, जनताले बलिदान दिएर ल्याएको लोकतन्त्रलाई बिर्सिएर फेरि त्यही व्यवस्था चाहियो भनेर जनताले भन्छन् भनेर विश्वास गर्न सकिन्न, यो त केही तत्वहरुले भ्रम फैलाइरुहेका मात्रै हुन्, यो भ्रम पनि केही दिनमै सकिन्छ ।’

यस्ता भ्रमको खेतीले जनता अब खोला, खोल्छीमा अल्झिन्छन् भन्ने आफूलाई नलागेको बताउँदै उहाँले लोकतन्त्र भए मात्रै स्वच्छ पत्रकारिता, स्वतन्त्रता, सञ्चार जगत, जनताको आवाज रहन्छ भन्ने सञ्चार जगतले पनि बुझेको बताउनुभयो ।

जुनसुकै विपत्तिमा पनि प्रतिकार्यका लागि २४सैँ घन्टा तयारी अवस्थामा रहन निर्देशन दिनुहुँदै उहाँले जुद्ध बारुण यन्त्र भक्तपुर गृहमन्त्रालयअन्तर्गत नै रहेकाले मन्त्रालयले जग्गा सम्झौताको म्याद थप गर्न मात्रै नभई दमकलकै नाममा जग्गा ल्याउन लाग्ने उहाँले बताउनुभयो । एकैछिनको ढिलासुस्ती र हेलचेक्रइले जनधनको क्षति हिुन दिन हुँदैन भन्दै उहाँले दमकल थप गर्न पालिकाहरुले पनि थप सहयोग गर्नुपर्ने औँल्याउनुभयो ।

Share This:
सम्बन्धित खबर
Loading...