‘देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजे युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ’

35

काठमाडौँ, १३ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टने बताउनुभएको छ ।

बुधबार राष्ट्रिय युवा संघ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्नुहुँदै प्रधानमन्त्री ओलीले युवा संघसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भन्दै देश र जनताका लागि परिआएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउने बताउनुभयो ।

‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा संघले बाघले झम्टिए झैँ झम्टन्छ,’ प्रधानमन्त्री ओलीले अगाडि भन्नुभयो,‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादित रुपमा परिचालन गर्नुस् । पहिलाको युथ फोर्स जस्तै । यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’

प्रधानमन्त्री ओलीले सरकारले एउटा कर्मचारीलाई हटाउँदा केहीले छाती पिटी पिटी रोएको टिप्पणी गर्दै प्रधानमन्त्रीले जवाफ दिइरहन नपर्ने बताउनुभयो ।

‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्‍यो । सक्कियो । त्यहीँ हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जे भन्यो त्यहीँ नियुक्ति गर्ने हाम्रो काम होइन,’ उहाँले भन्नुभयो ।

प्रधानमन्त्री ओलीले यही चैत १८ गतेभित्र अध्यादेशहरुलाई प्रतिस्थापन विधेयक ल्याएर पारित गर्नुपर्ने अवस्थामा त्यसलाई रोक्न विपक्षीले सदन अवरोधको काम थालेकोमा चिन्ता व्यक्त गर्नुभयो ।

उहाँले विपक्षीलाई आग्रह गर्दै भन्नुभयो, ‘यति सस्तो, यति हल्का र यति उत्ताउलो नहुनुस् तपाईंहरु । प्रधानमन्त्रीका सवालमा जथाभावी नबोल्नुस् । आखिर तपाईंहरु चिसै पानीले नुहाउनुपर्छ । हामी न मात्तिछौँ । न आत्तिन्छौँ । धैर्यपूवर्क अगाडि बढ्छौँ ।’

कार्यक्रममा एमालेका महासचिव शंकर पोखरेल, जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, पोलिटब्युरो सदस्य महेश बस्नेत, संघका अध्यक्ष क्षितिज थेबेलगायतले राष्ट्रिय स्वयंसेवक अभियानको आवश्यकताबारे मन्तव्य दिनुभएको थियो ।

Share This:
सम्बन्धित खबर
Loading...