काठमाडौँ, ८ चैत । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीले पार्टीभित्र कुनै विवाद नभएको बताउनुभएको छ । शुक्रबार केन्द्रीय कार्यसमिति बैठकमा बोल्नुहुँदै उहाँले जति वर्ष पछाडि केन्द्रीय समितिको बैठक बसे पनि पार्टीका कोही विवाद गर्ने मुडमा नरहेको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘डेढ वर्षपछि केन्द्रीय समितिको बैठक बसेको छ । जति वर्ष पछाडि बसे पनि आज केन्द्रीय समितिको बैठक बसेको छ । सबैको अनुहार आज स्पष्ट देखिएको छ । कसैले विवाद गरेका छैनन् र विवाद गर्नेवाला पनि छैनन् । कोही विवाद गर्ने मुडमा पनि छैनन् । नागरिक उन्मुक्ति पार्टीको विशेषता भनेको यही नै हो । जति च्याँठिएर, चिच्याएर, कस्सिएर आए पनि यो यस्तो प्रतीक हो जो सधैँ साथमा भइरहन्छ । दुई चारजनाले फेसबुकमा लेखे होलान्, को कहाँबाट परिचालित भए होलान्, कुनै मतलब छैन । तर, पहिचानको श्रीपेच नागरिक उन्मुक्तिसँग मात्रै छ ।’
साथै उहाँले प्रजातन्त्रवादी देशले सबैभन्दा पहिले थारु भाषामा प्रकाशित पत्रिकालाई प्रतिबन्ध गरेको भन्दै दुःख व्यक्त गर्नुभयो । उहाँले देशका विरुद्धमा संघर्षको सुरुवात गर्दा धेरैले सहज रुपमा लिनुभएको छ भने त्यो सरासर गलत भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘देशमा प्रजातन्त्र थियो, हाम्रा आवाजहरु प्रतिबन्धित थिए । देशको साहित्य र देवताहरुका निम्ति आफ्नो मनका कुरा राखिन्थ्यो । प्रजातन्त्रको वकालत गरिन्थ्यो तर हाम्रो प्रजातन्त्रवादी देशले सबैभन्दा पहिले थारु भाषामा प्रकाशित पत्रिकालाई प्रतिबन्ध लगायो । तर, देशका विरुद्धमा संघर्षको सुरुवात गरे पनि धेरैले सहज रुपमा लिनु भएको छ भने त्यो सरासर गलत हो ।’