रौतहट, ७ चैत । रौतहटमा माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षामा सामेल परीक्षार्थीले प्रयोग गरेका ४२४ थान मोबाइल सेट परीक्षा अनुगमन समितिले बरामद गरेको छ ।
माध्यमिक शिक्षा परीक्षा (एसइई) परीक्षाअन्तर्गत बिहीबार अनिवार्य अङ्ग्रेजी विषयको परीक्षा भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटबाट प्राप्त जानकारीअनुसार विभिन्न परीक्षा केन्द्रमा चिट चोर्न प्रयोजनका लागि परीक्षार्थीहरुले आफ्नो शरीरमा मोबाइल लुकाइ छिपाई परीक्षा हलभित्र प्रवेश गरेकोमा चेकजाँचका क्रममा फेला परेको हो ।
परीक्षामा अमर्यादित क्रियाकलाप र परीक्षार्थीहरुलाई चिट चोर्नमा सहयोग गरेको अवस्थामा यमुनामाइ माध्यमिक विद्यालय झुन्खुन्वा परीक्षा केन्द्रबाट एक र लक्ष्मीनिया माध्यमिक विद्यालय मौलापुरबाट एक गरी दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवम् डिएसपी दीपक कुमार राय बताउनुभयो ।
उहाँका अनुसार झुन्खुन्वा परीक्षा केन्द्रमा परीक्षार्थीहरुबाट केही रकम लिइ परीक्षा केन्द्रमा मोबाइल प्रवेश गराउने परीक्षा निरीक्षकलाई पक्राउ गरिएको हो । मौलापुर परीक्षा केन्द्रमा बाहिरबाट चिट पुर्याउने कार्यमा सग्लन एक जनालाई पक्राउ गरिएको उहाँले जानकारी दिनुभयो ।
पक्राउ परेका दुई जनालाई परीक्षा मर्यादा भंग गर्ने कसुरमा जिल्ला अदालत रौतहटबाट म्याद अनुमति लिइ अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।