झापा, ७ चैत । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द (विप्लव)ले अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको बताउनुभएको छ ।
राजनीतिक अन्तरक्रियाका लागि बेलबारी पुग्नुभएका महासचिव विप्लवले नेपाल न्यूज बैंकसँग कुरा गर्दै समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘अहिलेको सरकार समाजलाई रुपान्तरण गर्ने कुरामा असफल देखिएको छ । अहिलेको व्यवस्था नै अधुरो छ । पहिलो संविधान बनाउँदा नै विवादहरु भयो । अहिलेको गणतन्त्र त हो तर जनताको गणतन्त्र बनाउने कामहरु भएको छैन । राजतन्त्रबाट गणतन्त्रमा आउनु त प्रगतिको कुरा हो । समाजवादी गणतन्त्र नेपालको जनताको अपेक्षा, माग र आवश्यक्ता पनि हो ।’
साथै उहाँले राजाको पक्षमा मात्रै जनता नभएर गणतन्त्र र समाजवादको पक्षमा असंख्य जनता रहेको बताउनुभयो । उहाँले नेपाली जनताको आवश्यक्ता समाजवाद भएको बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘राजाको पक्षमा मात्रै होइन गणतन्त्र र समाजवादको पक्षमा त असंख्य जनता छन् । ७२ प्रतिशत जनता समजवादको पक्षमा छन् । अहिलेको नेपालको असन्तुष्टिबाट आफ्नो पराजय भोगेको राजतन्त्रले फेरि बौरिने प्रयत्न गरेको मात्रै हो । नेपाली जनताको आवश्यक्ता समाजवाद हो ।’